Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

वसन्त आरोहणका लागि ७१ समूहलाई अनुमति, ४५ करोड रोयल्टी संकलन

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

वसन्त आरोहणका लागि ७१ समूहलाई अनुमति, ४५ करोड रोयल्टी संकलन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही समूहका ८४ महिला र २६६ पुरुष गरी कूल ३३८ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए । सगरमाथापछि ल्होत्से हिमालका लागि ११ तथा अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि समान चार-चार आरोही समूहले अनुमति पाएका छन् ।

त्यस्तै, नुप्सेमा तीन, अमादब्लम र मकालुमा समान एक आरोही समूहले अनुमति लिएको विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । कोभिड- १९ महामारीबीच उत्साहवर्द्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्वतीय पर्यटनमा सकारात्मक उत्साह थपिएको छ । सर्वोच्च शिखर सगरमाथा सहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।

४५ करोडभन्दा बढी रोयल्टी संकलन

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ४५ करोडभन्दा बढी रोयल्टी संकलन गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्म ४५ करोड १९ लाख ५५ हजार ४९४ रोयल्टी संकलन भएको छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्त यामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायत उच्च हिमश्रृंखला आरोहीको रोजाइमा पर्छन् । वसन्त यामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।

सम्बन्धित खबरहरु