Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

मेगा बैंकद्वारा विश्रान्ति तरकारी बजारमा क्यूआर कोड सेवा विस्तार

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

मेगा बैंकद्वारा विश्रान्ति तरकारी बजारमा क्यूआर कोड सेवा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले शुक्रबार जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक सुरुवात गरेकी हुन् । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो । 

नेपाल राष्ट्र बंैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनले बताए ।

मेगा बैंककी सीईओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताइन् । क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकाले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने उनले बताइन् । सीईओ खुञ्जेलीले सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तर्गतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए ।

विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । तरकारी बजारमा क्यूआर कोड सेवा शुभारम्भ भएपछि व्यवसायी तथा ग्राहकहरु हर्षित भएका छन् । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु