Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

गर्मी बढेसँगै तराईमा लामखुट्टेको प्रकोप बढ्यो

न्युज कारोबार सर्लाही वैशाख ४, २०७८       

गर्मी बढेसँगै तराईमा लामखुट्टेको प्रकोप बढ्यो

गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलंगवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलंगवा नगरपालिकाले समयमा  औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलंगवा स्थानीयवासी सुन्दरश्याम यादवले बताए ।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलंगवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए । उचित सरसफाइ हुन नसक्दा मलंगवा बजार क्षेत्र तथा  टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ । गत वर्ष  नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलंगवा नगरपालिका- २ का स्थानीयवासी विजय साहले बताए । स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।

मलंगवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए । साथै उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताए । नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ । (रासस)

सम्बन्धित खबरहरु