Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाहीका लागि सिफारिस  

सीता वली काठमाडौं वैशाख ३, २०७८       

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाहीका लागि सिफारिस  

संसद फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाहीका लागि सिफारिस गरिएको छ । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठक बसी उनीहरुलाई तत्काल पदबाट हटाउने गरी सिफारिस गरिएको नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । संसद बैठकपछि तत्काल दलको बैठक बसी फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाहीका लागि पार्टी केन्द्रीय कमिटीमा पठाइएको शाहले बताए । उनले प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापालाई पदबाट हटाउनको लागि निर्णय गरी केन्द्रमा पठाएको बताए ।

सांसद देवी ओलीलाई भने चौबीस घण्टाभित्र स्पष्टिकरणका लागि बोलाउने निर्णयसमेत गरेको जानकारी दिए । उनले दलको विधानअनुसार नै उनीहरुलाई कारबाही गर्ने जानकारी दिए । कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लगेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्पष्ट अल्पमतमा परेका थिए । शुक्रबार बसेको कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उनले विश्वासको मतको लागि प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समर्थन गर्दै नेकपा एमाले माधवकुमार नेपाल पक्षधरका चार सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका ६ जना सांसदको समेत साथ पाएका मुख्यमन्त्रीले जम्मा २२ मत प्राप्त गरेका हुन् ।

जम्मा ३७ मत खसेकोमा विपक्षमा १५ मत खसेको थियो । कर्णाली प्रदेश सभाका ४० जना सांसदमध्ये नेकपा माओवादी केन्द्र दैलेखबाट निर्वाचन क्षेत्र नं १ ‘क’ बाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेको छ । जम्मा ३९ सांसद रहेकोमा राप्रपा कालिकोटबाट निर्वाचित सांसद शोसीला शाही भने तटस्थ बसेकी हुन् । उनी संसद बैठकमा दलको तर्फबाट धारणा राखेपछि बाहिरिएकी थिइन् ।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एमालेलाई समर्थन गर्दा पदको लागि लोभियो भन्ने आरोप लाग्लाकी भनेर वर्तमान सरकारलाई नै समर्थन गर्न लागेको बताए । यसअघि उनले नेतृत्व जसले दिन्छ उसैलाई समर्थन गर्ने बताएका थिए । विश्वासको मत पाएपछि बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको राजनीतिक स्थिति फेरिएको बताए । कर्णाली सरकार बहुमतमै भएको भन्दै उनले सरकारले देखेको कर्णाली सम्बृद्धिको सपनालाई निरन्तरता दिने बताए ।

सम्बन्धित खबरहरु