Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सत्तासाझेदार एमालेले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले हिजो सार्वजनिक अपिल जारी गर्दै मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन् । नेपालीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई माओवादी केन्द्र प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गरेकी हुन् ।

माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उनले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताइन् । कर्णालीमा एमालेबाट सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई भने कारबाही गरिएको छ ।

शाहीले विश्वासको मत लिने भएपछि कांग्रेसलाई आफ्नो पक्षमा पार्न एमाले र माओवादी केन्द्रले सक्रियता बढाएका छन् । एमालेले विश्वासको मत असफल बनाउन र माओवादी केन्द्रले विश्वासको मत सफल बनाउन कांग्रेसलाई आफूतिर तान्न लागेका हुन् ।

सम्बन्धित खबरहरु