Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सगरमाथा आरोग्य बिमा योजना : १६ सय तिरे ७ लाखको दाबी पाइने, १० दिनमै भुक्तानी

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

सगरमाथा आरोग्य बिमा योजना : १६ सय तिरे ७ लाखको दाबी पाइने, १० दिनमै भुक्तानी

नेपालीको स्वास्थ्य स्थितिबाट सिर्जना हुनसक्ने आर्थिक जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘सगरमाथा आरोग्य स्वास्थ्य बिमा’ योजना ल्याएकाे छ । यस योजनाअन्तर्गत एक्सिडेन्टल, मेडिकल र क्रिटिकल गरी तीन किसिमको बिमा हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'नयाँ वर्षमा नयाँ संकल्प'को नारासहित सार्वजनिक भएको यस याेजनाले ७ लाखदेखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, १ लाखदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र १ लाखदेखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकारका रोगको जोखिम एउटै बिमाले समेट्ने कम्पनीले जनाएकाे छ । बिमालेख आगामी वैशाख २ गतेदेखि बिक्री हुनेछ । ८४ वटा शाखाबाट बिक्री गरिने यो बिमालेख ६ देखि ६५ वर्ष उमेर समूहका नागरिकले खरिद गर्न पाउने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) एसके रावलले बताएका छन् । साथै,  प्रविधिमैत्री यो बिमालेख घर तथा अफिस जहाँसुकैबाट पनि सजिलै खरिद गर्न सकिने उनले जानकारी गराए ।

बिमालेख सस्ताे रहेकाे दाबी

बिमा क्षेत्रमै पहिलोपटक सार्वजनिक भएको यो नवीनतम योजना सस्तो रहेको कम्पनीले दाबी गरेकाे छ । इच्छुकले यो बिमालेख खरिदमा वार्षिक न्युनतम एक हजार ६ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ मात्रै बिमाशुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ७ लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बिमा, १ लाख रुपैयाँ बराबरको औषधि उपचार बिमा र एक लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बिमा गरेकाे खण्डमा एक वर्षमा जम्मा एक हजार ६ सय रुपैयाँ मात्रै तिरे पुग्छ ।

१० लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बिमा, २ लाख रुपैयाँ बराबरको औषधि उपचार बिमा र २ लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बिमा गरेकाे खण्डमा एक वर्षमा जम्मा ३ हजार रुपैयाँ मात्रै तिरे पुग्ने डीसीईओ रावलले जानकारी दिए । साथै, आफ्नो इच्छाअनुसार यो बिमा रकम फेरबदल पनि गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

१० दिनमै बिमा दाबी भुक्तानी पाइने

‘सगरमाथा आरोग्य स्वास्थ्य बिमा’ को दाबी गर्ने प्रक्रिया पनि सजिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमितले कम्पनीले भने बमोजिमको कागजात र विवरणहरु बुझाएको १० दिनमै बिमा दावी रकम भुक्तानी पाउनेछन् । यसको लागि बीमितले अस्पतालबाट डिस्चार्ज भएको अथवा रोग पत्ता लागेको ७ दिनभित्र लिखित वा मौखिक जानकारी दिनुपर्ने छ । उनीहरुले अस्पतालको बिल भर्पाइ, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई बिमा दाबी रकम भुक्तानीको फारम भर्नुपर्ने हुन्छ ।

त्यसपछि बीमितले दाबी फारम भरेको अर्थात कम्पनीले भनेबमोजिमको डकुमेन्टहरु पेश गरेको एक हप्ताभित्रै सबै बिमा दाबी रकम भुक्तानी गरिने कम्पनीले जानकारी गराएको छ । सगरमाथा इन्स्योरेन्सले २०५३ साल साउन २ गतेबाट बिमा कारोबार सुरु गरेको हाे ।

सम्बन्धित खबरहरु