Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

धनगढी हाफ म्याराथन : उपाधिमा दुर्गाबहादुर बुढाको ह्याट्रिक

न्युज कारोबार धनगढी चैत २८, २०७७       

धनगढी हाफ म्याराथन : उपाधिमा दुर्गाबहादुर बुढाको ह्याट्रिक

'अब धनगढी दौडिन्छ' भन्‍ने मूल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौँ संस्करणको 'धनगढी हाफ म्याराथन'को उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । २१.१ किलोमिटरको दूरी उनले एक घण्टा छ मिनेट ८.१८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । बुढाले लगातार तेस्रोपटक उपाधि जितेका हुन् । उपाधिसँगै बुढाले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, निर्धारित दूरी एक घन्टा नाै मिनेट ८.५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावतले दोस्रो स्थान हासिल गरे । सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए । उनले निर्धारित दूरी एक घन्टा १२ मिनेट ४.२७ सेकेण्डमा पार गरेका थिए । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमश: ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ पाएका छन् ।

पहिलोपटक आयोजना गरिएको खुला पाँच किलोमिटर महिलातर्फको उपाधि कैलालीकी सीमा चौधरीले जितिन् । उनले उक्त दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गरिन्। उपाधिसँगै चौधरीले पाँच हजार ५५५ रुपैयाँ प्राप्त गरिन् ।

सो प्रतिस्पर्धामा सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । चौधरीले निर्धारित दूरी २० मिनेट ४४.२८ सेकेण्ड र खड्काले २२ मिनेट ६.३१ सेकेण्डमा पूरा गरेका थिए । उपाधिसँगै दोस्रो र तेस्रो हुनेले क्रमशः तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित खबरहरु