Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारका लागि लविङ गर्दै भीम रावल

न्युज कारोबार काठमाडौं चैत २७, २०७७       

सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारका लागि लविङ गर्दै भीम रावल

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तारका लागि माधव नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावल सक्रिय भएका छन् । रावलले खाली रहेका दुई मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्ने र केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्ति गर्ने योजना बनाएको स्रोतले बताएको छ ।

रावलले प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएर ४ जना एमाले र १ जना माओवादीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाउने गरि छलफल जारी राखेको स्रोतको दाबी छ ।

‘रावलले एमालेका पूर्व सामाजिक विकासमन्त्री समेत रहेका प्रदेश सभा दीर्घ सोडारी, प्रदेशसभा सदस्य कुलविर चौधरी, पूर्णा जोशी, मनाकुमारी साउँद र माओवादीका मानबहादुर धामीलाई मन्त्री बनाउदैछन्’ स्रोतले भन्यो, ‘एमालेकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीलाई राज्यमन्त्री बनाउने तयारी छ ।’ कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको भने टुंगो नलागेको बताइएको छ । तर, प्रदेशसभा सदस्यहरुले भने मन्त्रिमण्डल विस्तारको विषयमा कुनै खालको छलफल नै नभएको दाबी गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले त्यो विषयमा अहिले कुनै छलफल नभएको प्रतिक्रिया दिए । प्रदेशसभा सदस्यहरुलाई अर्को समूहमा जानबाट रोक्न मन्त्रिमण्डल विस्तारमा रावल जुटेको बताइन्छ ।

तत्कालीन नेकपा विभाजनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए भने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट आफैं राजीनामा गरेका थिए । त्यति बेलादेखि दुवै मन्त्रालय मुख्यमन्त्री आफैंले हेरिरहेका छन् । तत्कालीन नेकपाको सुदूरपश्चिम इन्चार्ज रहेका रावललाई एमाले ब्युँतिएपछि पार्टी विरोधी गतिविधि गरेको भन्दै ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

सम्बन्धित खबरहरु