Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सिटिजन लाइफद्वारा बिमितलाई उपचार खर्च ३० लाख हस्तान्तरण

न्युज कारोबार काठमाडौं चैत २३, २०७७       

सिटिजन लाइफद्वारा बिमितलाई उपचार खर्च ३० लाख हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका ९ निवासी ४१ वर्षीय रामचन्द्र कँडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बिमा गरेका थिए । एक किस्ता बिमा शुल्क दुई लाख ४६ हजार बुझाएका कँडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागि काठमाडौँको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनीले सो ३० लाख विमांक रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले बताए ।

कँडेलको बिमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरुको लागि बिलबिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बिमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उपस्थित सबैमाझ बेलैमा बिमा गर्ने सल्लाह दिए । तिलोत्तमा नगरपालिका ९ का वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याललगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवीहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यसरी जीवन बिमा कम्पनीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो पटक थाहा पाएको बताइन् । 

सम्बन्धित खबरहरु