Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

रसातलमै पुगेर फर्कियो नेपालको पर्यटन

डीआर आचार्य काठमाडौं चैत ६, २०७७       

रसातलमै पुगेर फर्कियो नेपालको पर्यटन

विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको पर्यटन क्षेत्र रसातलमा पुगेर फर्किएको छ । सन् २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड–१९ ले विश्व ठप्प हुँदा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो– पर्यटन । विश्वभर पर्यटनमा आश्रित मुलुकको अर्थतन्त्र करिब ध्वस्त भयो । माल्दिभ्सजस्ता पर्यटन आयस्रोतमा भर पर्नुपर्ने मुलुकको अर्थतन्त्र दयनीय बन्यो ।

विश्वका धेरैभन्दा धेरै देश लामो समय लकडाउनमा रहे । कतिपय देशमा अझै लकडाउन जारी छ । आन्तरिक तथा बाह्य चहलपहल ठप्प भयो । नेपाल पनि यसबाट अछुतो रहने सम्भावना नै थिएन । चैत ११ गतेदेखिको १२० दिन लामो लकडाउन र त्यसपछि पनि सामान्य जनजीवनमा फर्किन महिनौँ लागेसँगै नेपालको पर्यटन क्षेत्र लथालिंग भएको छ ।

सन् २०२० अप्रिलदेखि नेपालमा लकडाउन सुरु भयो । अप्रिलदेखि नै नेपालमा पर्यटक आगमन ठप्प भयो । अघिल्लो महिना मार्चमा ४२ हजार ७७६ पर्यटक नेपाल भित्रिँदा अप्रिलमा जम्मा १४ जना आउन पाए । जबकि, सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए ।

कोरोनाले विश्वलाई गाँज्दै गर्दादेखि नै नेपालमा पर्यटक आगमन सुस्ताउँदै गयो । अघिल्लो महिनाको पर्यटक आगमन दर पनि निकै कम हो । सन् २०१९ मार्चमा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सन् २०२० का चार महिना पर्यटक आगमनमा पूर्णतः रोक लगाइएको थियो । आन्तरिक तथा बाह्य उडान ठप्प थिए । तर, यो अवधिमा स्थल मार्गबाट केही पर्यटक भित्रिएका छन् । अप्रिलदेखि सेप्टेम्बरसम्मका ६ महिनामा जम्मा १ हजार १९४ पर्यटकको आगमन भएको छ ।

समग्रमा, नेपाल भित्रिने पर्यटकको संख्या बितेका ११ महिनामा सन् २०१९ को तुलनामा ९७.८ प्रतिशत कमी आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२१ लागेपछि भने कोरोना खोप लगाएका पर्यटकलाई आन्तरिक तथा बाह्य स्तरमा आवतजावत अनुमति दिइएको छ । जनवरीमा ८ हजार ८७४ र फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

मासिक १ अर्ब ८० करोड नोक्सानी

नेपालको होटल क्षेत्र कोरोना अवधिभर ठप्प रह्यो । पर्यटन क्षेत्रमा आबद्ध करिब ७ लाख २० हजार र होटल क्षेत्रमा मात्र कार्यरत करिब २ लाख मजदुर–कर्मचारीको बिल्लीबाठ भयो ।

सिर्जना राणा

बैँकिङ क्षेत्रबाट करिब १३ अर्ब ८७ करोड ऋण लिएर सञ्चालन भएको यो क्षेत्रले साँवा र ब्याज गरेर करिब डेढ अर्ब तिर्दै आएको होटल संघ नेपाल (हान)ले जनाएको छ । गत वर्षमात्र करिब ७५ करोड डलर (७६ अर्ब ७ करोड रुपैयाँ) पर्यटन क्षेत्रको माध्यमबाट भित्रिएको अध्यक्ष सिर्जना राणा बताउँछिन् । 'होडल क्षेत्रमा करिब डेढ खर्ब लगानी भइसकेको छ,' उनी भन्छिन्, 'कोरोनाका कारण मासिक १ अर्ब ८० करोड रुपैयाँका दरले नोक्सानी व्यहोर्नुपरेको छ ।' मजदुर कर्मचारीको पारिश्रमिकमा मात्र वार्षिक ८५ करोड २२ लाख खर्च हुने गरेको उनले जानकारी दिइन् ।

 

ब्युँतिँदै छ पर्यटन

अहिले पर्यटन चहलपहल बढ्न थालेको छ । जनवरीको ८ हजार ८७४ र फेब्रुअरीको ९ हजार १४६ पर्यटक गमनले सकारात्मक संकेत दिएको छ । नोभेम्बरमा १ हजार ९५३ र डिसेम्बरमा ४ हजार २४५ विदेशी नेपाल भित्रिएका थिए ।

हानकी अध्यक्ष राणा होटल क्षेत्रला जीवित राख्न ठूलो सम्झता गर्नुपरेको बताउँछिन् । 'अन्य यावत् समस्या त छन् नै कमर्चारीसँग पनि हामीले सम्झता गरेका छँ,' उनले भनिन्, 'बाँच्ने र बचाउने विषयमा दुवै पक्ष एकै ठाउँमा ँ, मजदुर कर्मचारीबाट ठूलो सहयोग भयो, सीमित तलब र लोपालो जागिर खान उहाँहरू सहमत हुनुभयो, होटल क्षेत्र अत्यन्तै खराब अवस्थामा पनि टिक्नुको मुख्य कारण मजदुर कर्मचारीको सहयोग नै बन्न पुग्यो ।'

सन् २०२१ को प्रारम्भसँगै केही सामाजिक दूरी कायम राखेर भए पनि विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम हुन थालेपछि होटल क्षेत्र रिभाइभ हुन थालेको अध्यक्ष राणाले बताइन् । 'यसबीचमा न्तरिक पर्यटकको चहलपहल पनि बढेको छ,' उनले भनिन्, 'मूलतः काठमाडँ प्रभावित भइरहँदा पनि पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्र भने रिभाइभको चरणमा गइसकेका छन् ।'

ग्राफिक्स : डीआर आचार्य (तथ्यांक स्रोत : नेपाल पर्यटन बोर्ड)

सम्बन्धित खबरहरु