Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

गाउँपालिकाको खर्चमा सात जोडीको सामूहिक विवाह, सुनदेखि फर्निचरसम्म उपहार

दिपेन्द्रप्रसाद सिंह धनुषा फागुन १८, २०७७       

गाउँपालिकाको खर्चमा सात जोडीको सामूहिक विवाह, सुनदेखि फर्निचरसम्म उपहार

महोत्तरीको पिपरा गाउँपालिकाको अग्रसरतामा सात युवतीको सामूहिक विवाह गरिएको छ । पिपरास्थित रामनारायण जनता माविको परिसरमा गाउँपालिका अध्यक्ष कन्यादान योजनाअन्तर्गत सामूहिक विवाह गराइएको हो ।

मधेसमा विपन्न परिवारलाई छोरीको विवाह गर्न ऋणको भारी बोक्नुपर्ने बाध्यता हटाएर दाइजो उन्मूलन गर्न र सामाजिक जागरणका लागि गाउँपालिकाले सामूहिक विवाह कार्यक्रम ल्याएको अध्यक्ष विक्रम चौधरीले बताए । गरिब परिवारका सात जना छोरीलाई एकैसाथ गाउँपालिकाको खर्चमा कन्यादान गराएको उनले जानकारी दिए ।

सात जना छोरीको कन्यादान गर्ने अवसर मिल्नु भाग्यको कुरा हो,’ उनले भने, ‘यसबाट कन्या लक्ष्मी हुन् र उनी समस्या होइनन् भने सन्देश प्रवाहित भएको छ ।’ मधेसमा छोरीलाई विवाह गर्न १० लाख ऋणको भारीबाट जोगाउन गाउँपालिका अध्यक्ष कन्यादान योजना ल्याएर सामूहिक विवाहको अवधारणा अगाडि बढाइएको उनले बताए ।

गाउपालिकाले १० जना छोरीको विवाहकालागि ४० लाख रुपैयाँ विनियोजन गरे पनि विवाहका लागि सात जना छोरीको परिवारबाट मात्र आवेदन आएको थियो । गाउँपालिकाबाट आवेदन आहवान भएपछि सम्पर्कमा आएका सात जना छोरीको विवाहको सम्पूर्ण खर्च कार्यालयले व्यहोरेको छ ।

सामूहिक विवाहमा पिपरा १ की २० वर्षीया कविताकुमारी महराको जलेश्वरका अनिल महरासँग र पिपरा ४ की २० वर्षीया रञ्जुकुमारी रामसँग भारत मधुवनी कुन्डन मरियाका लक्ष्मण महरासँग विवाह भएको छ । त्यस्तै पिपरा १ की कविताकुमारी महतोको जलेश्वरका रोशन महतोसँग, पिपरा ४ की वविना कुमारीको जलेश्वरका बबलुकुमार पासवनासँग, पिपरा ४ की निभा कुमारीको लक्ष्मीनियाका दिनेश महरासँग र पिपरा ४ की राजकुमारी सदाको महोत्तरी बलवाका राजकरण सदासँग विवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।

सामाजिक परम्पराअनुसार विधि पुयाएर विवाह गरिएको गाउँपालिले जनाएको छ । गाउँपालिकाले दुलाहादुलहीलाई तीन–तीन आनाको सुनको औँठी, दुलहीलाई दुई आनाको मंगलसुत्र, विवाहमा दुलाहाले लगाउने गन्जी, कटु, तौलिया, गम्छा, धोती, कुर्ता, सुट, जुता, मोजा र दुलहीका लागि साडी, साया, लेहंगा सेट र अन्य मेकअप सामग्रीसहित नयाँ जीवन सुरु गर्ने दम्पतीलाई नयाँ फर्निचर सेट, स्टिल दराज, बाकस, भाडाकुँडासहित ५५ प्रकारका सामान उपहार दिएको छ ।

अध्यक्ष चौधरीले मैथिली परम्पराअनुसार वैवाहिक कार्यक्रममा बुवाको भूमिका निर्वाह गर्दै कन्यादान गरेका छन् ।

सम्बन्धित खबरहरु