global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

पुस, २०- अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन् ।

विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन् ।

व्यावसायिकरुपमा संस्कृत विषय पढाउँदा प्रत्यक्ष लाभ नभए पनि निजी ९संस्थागत० विद्यालयले गुरुकुलीय पद्धति हुँदै विकसित नेपाली शिक्षामा आफ्नो मूल्यवान् अस्तित्व देखाउन संस्कृत बचाऊको अभियानमा साथ दिएको देखिएको छ । जयतु संस्कृतम्, समज्ञा संस्कृत परिषद्लगायतको अभियान र पहलमा ती विद्यालयले संस्कृतलाई स्थान दिन थालेका हुन् ।

शास्त्रीय ९गुरुकूल० पद्धतिअन्तर्गतका वेद विद्याश्रम तथा संस्कृत माविजस्ता सरकारी विद्यालयले माध्यमिक तहसम्म संस्कृत विषय पढाउँछन् भने अन्य सामुदायिक र निजी विद्यालयमा यो विषयले खासै प्रश्रय पाएको छैन ।

पाठ्यक्रम विकास केन्द्रले आधारभूत तहमा ऐच्छिक विषयका रुपमा राखी पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक छाप्न दिँदै आएको छ । विसं २०५५ अघि निम्न माध्यमिक तहमा ५० पूर्णाङ्कको संस्कृत विषय अनिवार्य थियो ।

संस्कृतका अभियानकर्मी तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका उपप्राध्यापक रोहिणी तिमल्सिनाका अनुसार पछिल्लो समयमा बागमती बोर्डिङ स्कुल सुकेधारा, एपेक्स स्कुल चाबहिल, डियरवाक सिफल, भद्रकुमारी घले स्कुल अनामनगर, घटराज भट्टराई मेमोरियल स्कुल कपन, पाणिनि स्कुल पेप्सीकोलालगायतले संस्कृत विषय समावेश गरेका छन् ।

संस्कृत व्याकरणका अभियन्ता पाणिनिको नाममा स्थापित पाणिनि स्कुलमा समेत आंशिकरुपमा संस्कृत पढाउने तिमल्सिनाले जेम्स, लिटल एन्जेल्सजस्ता ठूला निजी विद्यालयमा पनि यो विषय समावेशका लागि प्रस्ताव गरिएको बताउनुभयो । उहाँले आफूले कक्षा ५, ६ र ७ का विद्यार्थीलाई एउटै कक्षामा राखेर दैनिक एक ‘पिरियड’ पढाउने गरिएको र विद्यार्थीले रुचिपूर्वक कक्षामा भाग लिएको बताउनुभयो ।

पाणिनिका संस्थापक प्रिन्सिपल एवं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एन प्याब्सन०का पूर्वअध्यक्ष कर्णबहादुर शाही नयाँ पुस्ता र नैतिकता, योग र मौलिकताको ज्ञान दिन संस्कृत विषयको महत्व हुने बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाको वैज्ञानिक अनुसन्धानको संस्था नासाले गत वर्ष संस्कृत विषय पढेका ३० जना विज्ञ माग गर्दा योग्यता पुगेका १० जनाले मात्र नाम निकालेको सन्दर्भ उल्लेख गर्दै तिमल्सिनाले आध्यात्मिकता, नैतिकता, वैज्ञानिक तथा आत्मिक सन्तुष्टिका लागि संस्कृत विषयलाई विश्वभर क्रमशः महत्व दिन थालिएको दाबी गर्नुभयो । यो ज्योतिष विज्ञानका लागि पनि प्रचलित छ ।

उच्च शिक्षाका लागि नेपाल संस्कृत विश्वविद्यायले यस विषयको अगुवाई गर्दै आएको छ । माध्यमिक तहमा संस्कृत नपढेका लागि सो विश्वविद्यालयले छ महिने संस्कृत भाषा प्रशिक्षण दिई उत्तरमध्यमा भर्ना गराउने गर्छ । यस्ता विद्यार्थी हरेक वर्ष करिब १५० हुन्छन् ।

सो विश्वविद्यालयका सहप्राध्यापक डा देवी नेपालले नेपाली भाषामा शुद्धताका लागि पनि संस्कृत विषय अध्ययन गर्नु उपयोगी हुने बताउँदै निजी विद्यालयले शुरु गरेको प्रयोग सकारात्मक भएको बताउनुभयो ।
रासस

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु