nmb bank

गृहपृष्ठ खाद्यले धान किन्न सकेन, व्यवसायीले ताेके महंगाे मूल्य

खाद्यले धान किन्न सकेन, व्यवसायीले ताेके महंगाे मूल्य

खाद्यले धान किन्न सकेन, व्यवसायीले ताेके महंगाे मूल्य

काठमाडौँ-खाद्य संस्थानले चालु आर्थिक वर्षमा २ लाख ७६ हजार क्विन्टल धान किन्ने दाबी गरे पनि हालसम्म २५ प्रतिशत मात्रै खरिद गरेको छ । कृषकको हक संरक्षण, बजारीकरण र बजार नियन्त्रण गर्ने धान किन्ने योजना भए पनि समर्थन मूल्य कम तोक्दा लक्ष्यअनुसार खरिद गर्न नसकेको हो ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार विभिन्न जिल्ला गरी ६७ हजार ७ सय ९६ क्विन्टल मात्रै खरिद भएको छ । संस्थानले कात्तिकबाट धान किन्न सुरु गरेको थियो । त्यसबेला समर्थन मूल्य तोक्दा बजार मूल्यभन्दा प्रतिक्विन्टल ३०/४० रुपैयाँ बढी थियो । संस्थानले धानको मूल्य निर्धारण गरेपछि व्यवसायीहरूले पनि मूल्य बढाएका थिए ।

सरकारले समयमै समर्थन मूल्य तोक्दा किसानलाई भने फाइदा भएको छ । संस्थानले लक्ष्यअनुसार खरिद गर्न नसके पनि प्रतिस्पर्धाका कारण कृषकले राम्रो मूल्य पाएका छन् । किसानसँग खरिद गरिएको धान संस्थानले चामल बनाएर बिक्री गर्छ । महेन्द्रनगर, बर्दिया र धनुषामा संस्थानको आफ्नै मिल छ । मिल नभएका ठाउँमा ठेक्कामा दिइन्छ । त्यसका लागि टेन्डर अह्वान हुन्छ । त्यसपश्चात् संस्थानले आवश्यक ठाउँमा धान बिक्री गर्ने जनाएको छ । चामल कर्णाली, भेरी, सेती, महाकाली, गण्डकी, धौलागिरि, राप्तीलगायत क्षेत्रमा सहुलियत दरमा बिक्री गरिने जनाएको छ । संस्थान अघिल्लो वर्ष पनि ४ लाख २० हजार क्विन्टल धान किन्ने प्रतिबद्धता जनाएको थियो । तर, लक्ष्यको करिब ५० प्रतिशत मात्रै खरिद गरेको थियो ।

‘संस्थानले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल १ सय ५० रुपैयाँ बढीमा व्यवसायीले धान खरिद गर्दै आएका छन् । बढी मूल्य पाउँदा किसानहरू त्यतै आकर्षित भए,’ प्रवक्ता सापकोटाले भने, ‘जसले गर्दा लक्ष्यअनुसार खरिद गर्न सकेनौं ।’ संस्थानले कैलाली र बर्दियाबाट धान किन्न सुरु गरेको थियो । बाँकेमा मंसिरमा किन्न थालेको थियो । अन्य जिल्लामा भने पुसबाट किन्न थालेको जनाएको छ । यस्तै पूर्वका जिल्लाहरूमा भर्खरै सुरु भएको संस्थानले जनाएको छ । अञ्चल कार्यालय धनगढीले ४५ हजार क्विन्टल किन्ने लक्ष्य राखेको छ । धानको समर्थन मूल्य प्रतिक्विन्टल १९ सय ५० रुपैयाँ तोकेको छ । हालसम्म ४५ हजार क्विन्टल खरिद भएको छ ।

अञ्चल कार्यालय राजापुरले ३० हजार क्विन्टल किन्ने लक्ष्य राखेको छ । उक्त कार्यालयले धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार रुपैयाँ राखेको छ । हालसम्म १९ सय ४६ क्विन्टल मात्रै खरिद भएको छ । महेन्द्रनगर कार्यालयले ५ हजार किन्ने लक्ष्य राखेको छ । धानको समर्थन मूल्य १९ सय रुपैयाँ राखेको छ । हालसम्म ११ सय ५२.७० क्विन्टल मात्रै खरिद भएको छ ।

नेपालगन्जको पनि २० हजार क्विन्टल किन्ने लक्ष्य छ । प्रतिक्विन्टल २ हजार ३० रुपैयाँको दरले १३ हजार १ सय ८.३४ क्विन्टल खरिद गरेको छ । लहान कार्यालयले ८० हजार क्विन्टल किन्ने लक्ष्य राखेको छ । प्रतिक्विन्टल २३ सय ७५ रुपैयाँको दरले ५ हजार ७ सय २०.८ क्विन्टल मात्रै खरिद गरेको छ । यस्तै अञ्चल कार्यालय जनकपुरले २० हजार किन्ने लक्ष्य राखे पनि ५ सय २० क्विन्टल मात्रै खरिद गरेको छ ।

जनकपुरमा प्रतिक्विन्टल धानको समर्थन मूल्य २४ सय ३० रुपैयाँ तोकेको छ । वीरगन्ज कार्यालयले ३० हजार किन्ने लक्ष्य राखे पनि ११ सय ९० क्विन्टल मात्रै खरिद गरेको छ । वीरगन्जमा प्रतिक्विन्टल धानको समर्थन मूल्य २५ सय २५ रुपैयाँ तोकेको छ । मुगुमा धान खरिद नै हुन सकेको छैन । उक्त क्षेत्रबाट १ सय क्विन्टल धान किन्ने लक्ष्य छ । उक्त जिल्लाबाट मोटा, सोना, जिरा, मार्सीलगायत धान खरिद भइरहेको खाद्यले जनाएको छ । संस्थानका अनुसार धानको मूल्य निर्धारण गर्न प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिको अध्यक्ष सम्बन्धित प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छ ।

टोलीले स्थानीय उत्पादन, बजार मूल्य, कृषि कार्यालयले दिने मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्छ । समितिले विश्लेषण गरी किसानलाई मर्का नपर्ने गरी मूल्य निर्धारण गरेको दाबी गरे पनि हाल बजार भाउभन्दा कम समर्थन मूल्य तोकेको हो । प्रवक्ता सापकोटाले निजी क्षेत्रलाई पछयाउन ग्राहो भएको बताए ।

सरकारले लक्ष्यअनुसार खरिद गर्न नसकेपछि कैलाली र बर्दियामा मूल्य संशोधन गर्ने तयारी गरेको छ । मूल्य संशोधन गरेर थप १५ हजार क्विन्टल खरिद गर्न चिठी पठाएको सापकोटाले बताए । ‘नयाँ मूल्य निर्धारण गर्न चिठी पठाएका छौं,’ उनले भने, ‘तीक्षेत्रमा एक–दुई दिनभित्र नयाँ मूल्य निर्धारण हुन्छ ।’

प्रकाशित समय : १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु