global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चालु खर्च धान्न चर्को ब्याजमा ऋण

चालु खर्च धान्न चर्को ब्याजमा ऋण

चालु खर्च धान्न चर्को ब्याजमा ऋण

दैनिक कार्य सञ्चालनका लागि स्रोत अभाव भएपछि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ । स्थानीय तह कार्यान्वयनसँगै खर्च बढे पनि राजस्व भने लक्ष्यअनुसार नउठेपछि आन्तरिक ऋणको भर पर्नुपरेको हो । करिब ८० अर्ब रुपैयाँभन्दा बढी आन्तरिक स्रोतबाट कर्जाका रूपमा लिइएको रकम खर्च भइसकेको अर्थ मन्त्रालय बजेट सम्बद्ध अधिकारीले जानकारी दिए ।

‘राजस्व लक्ष्यभन्दा कम उठेको छ तर खर्च बढिरहेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । महालेखा नियन्त्रकको कार्यालयको पुस १ गतेको तथ्यांकले पनि सरकार ९४ अर्ब ५५ करोड रुपैयाँ घाटामा देखाएको छ ।

उक्त घाटालाई आन्तरिक स्रोतबाट नै पूर्ति गरिएको ती अधिकारीले बताए । ‘पुँजीगत खर्च निकै कम भएकाले बजेटको स्रोतमा विदेशी सहायताको अंश निकै कम छ,’ उनले भने, ‘आन्तरिक ऋण लिएको रकम नै खर्च भइरहेको छ ।’ यस अवधिमा ३ खर्ब ३८ अर्ब रुपैयाँ खर्च भएको छ भने राजस्व २ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै उठेको छ । राजस्व लक्ष्यभन्दा करिब ४ प्रतिशत कम उठेको हो । अघिल्लो वर्ष खर्च नभएर सरकारी ढुकुटीमा १ खर्ब २ अर्ब रुपैयाँ बचतमा थियो ।

वैदेशिक सहायता साधारणतया पुँजीगत खर्चका लागि लिने गरिएको छ । पुस १ गतेसम्म जम्मा ९ प्रतिशत पुँजीगत खर्च भएको छ । सरकारले खर्च गरिसकेपछि शोधभर्नाका रूपमा विदेशी सहायता आउने गर्छ । हालसम्म करिब १८ अर्ब रुपैयाँ वैदेशिक सहायता आएको छ । बाँकी ८० अर्ब आन्तरिक ऋण लिइएको छ ।

बजेट पूर्तिका मुख्य चार साधन हुन्छन् । देशभित्र उठ्ने राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण बजेटका मुख्य स्रोत हुन् । दैनिक कार्य सञ्चालनमा जाने चालु खर्चका लागि वैदेशिक सहायता वा आन्तरिक ऋण लिनु जोखिमपूर्ण हुन्छ । तर, संघीयता कार्यान्वयनका क्रममा ठूलो आर्थिक भार परेपछि सरकार आन्तरिक ऋण उठाएर खर्च धान्न बाध्य भएको हो ।

वैदेशिक ऋण र अनुदान निश्चित शीर्षकमा तोकिएको सर्तबमोजिम खर्च गर्नुपर्ने हुन्छ । त्यसैले दैनिक कार्य सञ्चालनका लागि धमाधम आन्तरिक ऋण उठाउन थालिएको हो । चर्को ब्याजमा आन्तरिक ऋण लिएर दैनिक खर्च धानिरहेको सरकारलाई प्रदेश व्यवस्थापन थप चुनौतीपूर्ण हुनेछ । पाँच महिनामै १ खर्ब ८ अर्ब ८३ करोड उठिसकेकाले अब जम्मा ३६ अर्ब १७ करोड आन्तरिक ऋण उठाउन पाइनेछ । चालु आर्थिक वर्षको बजेटमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने उल्लेख छ । हालसम्मको रकममध्ये ७२ अर्ब विकास ऋणपत्र र बाँकी ट्रेजरी बिल्सलगायतका उपकरणमार्फत उठाइएको हो । ९१ दिने ट्रेजरी बिल्सको ब्याजदर ६.०५ प्रतिशत पुगिसकेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ ।

वर्षको सुरुमै ठूलो ऋण उठाउनुपर्नाको कारण भने स्थानीय तहलाई एकमुष्ठ ठूलो रकम दिनुपरेकाले हो । अर्थ मन्त्रालयले गत साउनमै ७५ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएको थियो । मंसिरमा थप ७५ अर्ब रुपैयाँ निकासा दिएको छ । यसरी स्थानीय तहलाई दिइएको रकम फिर्ता लिन नपाइने संवैधानिक व्यवस्था छ । ती निकायले खर्च नगरे पनि केन्द्रमा तानेर खर्च गर्न पाइँदैन । अब प्रदेश संरचना बनेपछि खर्चको भार थप बढ्नेछ । संवैधानिक व्यवस्थाअनुसार नै करिब १ सय १० जना प्रदेशस्तरमा मन्त्री बन्न सक्नेछन् । प्रदेशतहमै ५ सय ५० जना सांसद हुनेछन् । सांसद भवन मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय र निवास आवश्यक हुनेछ । कर्मचारी थपिनेछन् ।

हालका लागि यस वर्षकै बजेटमा प्रत्येक प्रदेशलाई करिब १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यो रकम सुरुवाती कामका लागि भनेर छुटयाइएको हो । तर, उक्त रकमले नपुग्ने देखिइसकिएको छ ।

प्रदेश र स्थानीय तह सञ्चालनका लागि आगामी ३ वर्षमा कम्तीमा १० खर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यसअघि अर्थ मन्त्रालयले ८ खर्ब २० अर्ब आवश्यक पर्ने जनाएको थियो । अर्थ मन्त्रालयका उच्चअधिकारीहरूसमेतको अध्ययनले पछिल्लो समय १० खर्ब आवश्यक पर्ने देखाएको हो ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु