nmb bank

गृहपृष्ठ पारिवारिक अवस्था सुधारमा कोशेढुंगा सावित हुँदै वित्तीय साक्षरता

पारिवारिक अवस्था सुधारमा कोशेढुंगा सावित हुँदै वित्तीय साक्षरता

पारिवारिक अवस्था सुधारमा कोशेढुंगा सावित हुँदै वित्तीय साक्षरता

सल्यान । छोराछोरीले बाबुआमालाई वृद्धाश्रम पु¥याउँछन् भन्ने सुन्ने बित्तिकै छत्रेश्वरी गाउँपालिका–१ दहखोलाकी ५५ वर्षीया पार्वती भण्डारीका आँखा आँशुले टलपल भरिएर आए । उनीसँगै बसेका उनका श्रीमान् ७० वर्षीय भीमबहादुर भण्डारीसमेत भक्कानिएर रुनथालेपछि वरिपरिका सबै भावविह्वल बने । उमेरमा पैसा कमाएर बचाउन नसके बूढेसकालमा दुःख पाइन्छ भन्ने कुराले मन छोएपछि पार्वती र उनका श्रीमान् दुवैले मन थाम्न सकेनन् । ।
छोराहरु पैसा कमाउन विदेश गएको र छोरीहरुको विवाह भइसकेपछि घरमा एक्लै भएका भीमबहादुरका दम्पतीले वित्तीय साक्षरता कक्षा पढेपछि आफूहरु आफ्नै घरमा बस्दा पनि वृद्धाश्रममा पुगेकोजस्तो अनुभूति गरे । ‘छोराहरुले विदेशमा कस्तो काम गर्छन्, सजिलो अप्ठेरो के छ, यता बिरामी हुँदा हामीलाई पानी दिने मान्छे सम्म छैन,’ भण्डारीले भने, ‘उमेर छँदा कमाएको पैसा अलिअलि मात्र जोगाएको भए आज छोराहरु यतै उद्योग गरेर बस्थे, विदेश जानुपर्ने थिएन,’ भीमबहादुरले भने ।
‘उमेर छँदा कति धेरै कमाइयो होला, तर भविष्यका लागि चाहिन्छ भनेर कहिलै बचत गरिएन, नत कसैले बचत गर्नुपर्छ भनेर सिकायो, अहिले न त आफ्नो हातमा नगद पैसा छ न अब कमाउन नै सकिन्छ,’ भण्डारीले भने, ‘तर पनि मनले हारेको छैन जति भए पनि बचत गर्छु ।’ छेउमै बसेका शिक्षक पवित्र भण्डारीलाई पनि पारिवारिक हिसाबकिताब नराख्दा गरिब भइन्छ भन्ने कुरामा विश्वास नै लागेको थिएन, तर धेरै पैसा कमाउँदा पनि नगद व्यवस्थापन गर्न सकिएन भने गरिब बन्छ भन्ने कुरा राम्रोसँग बुझेपछि उनले पनि सहकारीमा एकैपटक रु १० हजार बचत गरे ।
‘वास्तविकमा हामीले पैसा चिनेकै रहनेछाँै, कमाउँदा पैसा चिन्न सकिएन भने नकमाउँदा दुःख पाइने रहेछ,’ भण्डारीले भने, ‘बचत भनेको त कान्छो छोरा पो रहेछ ।’ कालीमाटी गाउँपालिका–२, झिगानेका ८५ वर्षीय गुरुदत्त सापकोटालाई पनि वित्तीय साक्षरताले मनै छोयो । उमेरले डाँडा काटिसक्दा पनि बचत गर्न नसकेको भनेर पछुतो मानेका सापकोटाले वित्तीय साक्षरता कक्षा समापन भएकै दिन सहकारीमा गएर रु तीन हजार ५०० जम्मा गरे । सरकारले ज्येष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताबाट अहिले मासिक रु ५०० का दरले सापकोटाले बचत गर्न थालेका छन् ।
‘उमेरमा कमाएको पैसा बचाउन सकिएन, रगत हँुदा यस्तै चल्छ भन्ने लाग्थ्यो, वित्तीय साक्षरता कक्षा पढेपछि थाहा भयो बचत गर्नु अनिवार्य रहेछ, मेरो पनि आम्दानीको स्रोत त छैन, सामाजिक सुरक्षा भत्ताबापत रु एक हजार पाउँछु त्यसैबाट आधा रकम बचत गर्न शुरु गरेको छु,’ सापकोटाले भने । वनगाड कुपिण्डे नगरपालिका–१२, भदालेकी ५३ वर्षीया मनकली रोकायाले पनि पैसा हुँदा पनि बचत गर्न नसकेको सम्झेर आँशु थाम्न सकिनन् । जति दुःख गरे पनि आफ्नो परिवारको आर्थिक अवस्था कहिल्यै सुधार नभएको देखेर निराश भएकी मनकलीले कमाएको थोरै पैसा बचत गरेको भए अहिले दुःख हुने थिएन भन्दै रोइन् ।
‘पैसा कमाएर बचाउनु पर्छ भनेर कसैले सिकाएन हामी यस्तो विकटमा बस्ने मान्छेले यस्ता कुरा कसरी आफैँ थाहा पाउनु ? उमेर ढल्किसक्यो अहिले सम्झेर रुन मन लाग्छ, तर पनि जति हुन्छ बचत गर्छु, बाँचुञ्जेल मेरो हुन्छ, मरेपछि छोरानातिका लागि हुन्छ,’ मनकलीले भनिन् । दलित विकास समाज, सल्यानद्वारा सञ्चालन भएको पहल कार्यक्रम अन्तर्गत समूहमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि धेरैका आँखा खुल्न थालेका संस्थाका अध्यक्ष निमबहादुर नेपालीले बताए । ‘वित्तीय साक्षरता कक्षामा बचत, नगद व्यवस्थापन, ऋण योजना, पारिवारिक बजेटका बारेमा राम्रो बुझेकाले सहभागीले आफ्नो व्यवहारमा लागू गरेको मैले पाएको छु,’ अध्यक्ष नेपालीले भने ।
वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नजिकका सहकारी संस्थामा सदस्य भएर नियमित बचत गर्न थालेको दलित विकास समाज, सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । सल्यानका एक नगरपालिका र दुई गाउँपालिकाका विकट नौ वटा वडामा लागू भएको पहल कार्यक्रममा दुई वर्षको अवधिमा करिब एक हजार ५०० जनाले वित्तीय साक्षरता कक्षा लिएको पुनले जानकारी दिए । ‘वित्तीय साक्षरता कक्षा लिएपछि सहभागीले नजिकका सहकारी संस्थामा बचत गर्न जान्छन्, अहिलेसम्म एक हजार १०० भन्दा बढी सहकारी संस्थामा सदस्य बनेर बचत शुरु गरेका छन्,’ कार्यकारी निर्देशक पुनले भने ।
२६ दिनसम्म चल्ने यो कक्षा समुदायमा रहेका विपन्न परिवारका लागि कोशेढुंगा सावित भएको छ । वित्तीय साक्षरता कक्षामा बचत तथा जीवन उपयोगी सीप सिकाइने भएकाले समुदायमा बचत व्यवस्थापनका लागि कोशेढुंगा सावित भएको सहकारी संस्थाका पदाधिकारी बताउँछन् । ‘१४ वर्षसम्म सहकारी संस्थामा १७३ सदस्य थिए त्यसमा पनि सदस्य घट्दै थिए, वित्तीय साक्षरता कक्षा पढेपछि दुई वर्षमा ४०० सदस्य वृद्धि भएका छन्,’ सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था कालीमाटीका अध्यक्ष कुलप्रसाद भण्डारीले भने । ‘बचत, ऋण, पारिवारिक बजेट निर्माण, सहकारी संस्थाको बारेमा बुझाइ र सहकारी संस्थाको क्षमता अभिवृिद्धपछि धेरै सदस्य थपिएका छन्,’ दमाचौर साना किसान सहकारी संस्थाका अध्यक्ष देवी चन्दले भने, ‘सदस्यले ऋण लिँदा पनि आफूलाई चाहिएको जति मात्र लिएका छन्, वित्तीय साक्षरता कक्षाले सदस्यको आर्थिक सुधार गर्न प्रभावकारी भूमिका खेलेको छ ।’

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु