गृहपृष्ठ रोल्पालीका भान्छामा अझै ढिकेनूनको प्रयोग

रोल्पालीका भान्छामा अझै ढिकेनूनको प्रयोग

रोल्पालीका भान्छामा अझै ढिकेनूनको प्रयोग

कविता उपाध्याय । लिबाङ (रोल्पा) । नेपाल सरकारले सबैको खानामा अनिवार्य रूपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिकेनून प्रयोग गर्छन् ।
सरकारले केही वर्षअघि फेब्रुअरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रूपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका दूरदराजका जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिकेनूनको प्रयोग गर्दै आइरहेका छन् । माडी गाउँपालिका–५ भाबाङ रोल्पाका ६५ वर्षीया धनकुमारी पुनले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताए ।
उनले भने, ‘छोराहरू वैदेशिक रोजगारीमा छन् । बुहारीहरू सदरमुकाम बस्छन् । घरमा रहेका बूढाबूढीले ढिकेनून नै प्रयोग गर्छम् । पोके नून भन्दा ढिकेनून सस्तो छ ।’ पोके नूनको प्रयोगले गाईबस्तुमा जुम्रा पार्छ र मान्छेको शरीर चिलाउँछ भन्ने भ्रम उनमा रहेको छ । सदरमुकाममा बस्दै आएका ७० वर्षीया प्रभा घर्तीमगरलाई पहिलेदेखि खाँदै आएको हुँदा ढिकेनून नै मन पर्छ । छोराछोरीले पोका नून प्रयोग गरेपनि आफूले भान्छा गर्दा ढिकेनून नै प्रयोग गर्ने गरेको उनले बताए ।
साविकको थबाङ गाविस ७ तेलखोला रोल्पाका २९ वर्षीया जीना घर्तीमगरलाई भने पोका नून मन पर्छ तर भौगोलिक विकटताका कारण उनको गाउँमा ढिकेनून भन्दा पोका नून करिव दोब्बर मूल्यले महंगो पर्छ । गाउँमा ४० रुपैयाँ प्याकेटका दरले आयोडिनयुक्त प्याकेटको नून पाइने भएपछि उहाँले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आएका छन् । यस्तै, सुनछहरी गाउँपालिका ३ रोल्पाका २५ वर्षीया बेगम बूढामगरका अनुसार उनको गाउँमा पछिल्लो पुस्ताले आयोडिन नूनको प्रयोग गरेपनि अघिल्लो पुस्ताले भने ढिकेनून नै प्रयोग गर्दै आएका छन् ।
उनका अनुसार गाउँका जनताले अझै ढिकेनून र आयोडिन नूनको भिन्नता बुझेका छैनन् । ‘परम्परागत सांच र चिन्तन कायमै छ, त्यसैकारण ढिकेनूनको प्रयोग भइराखेको छ,’ उनले भने । सिन्धुली माइतीघर बताउने २७ वर्षीया शर्मिला तामाङ विवाह गरेर रोल्पा आएका छन् । तामाङका अनुसार उनको माइतीमा सधैं पोका नूनको प्रयोग हुन्छ तर घरमा उनकी सासूले पोका नून नखाने भएका कारण ढिके नूनको प्रयोग हुँदै आएको छ । तर सासूले नदेखेका बेला भने उनले पोका नून नै प्रयोग गर्ने गरेको बताइन् ।
रोल्पा नपा–३ का ६३ वर्षीया रमाना घर्तीका ४ भाइ छोरा छन् । सबै छुट्टिएर बसेका छन् । घरमा बूढाबूढी मात्र छन् । यो जोडीले सधैं ढिकेनूनको प्रयोग गर्दै आएको छ । तर छोराबुहारीले भने पोका नून प्रयोग गर्छन् । कहिलेकाहीँ छोराबुहारीकामा खाना खाँदा आङ चिलाएर हैरान हुनेभएको हुँदा घरमै खाना खान मन पर्ने घर्तीको भनाइ छ । यस्तै थबाङ गापा ५ उवा रोल्पाका अनरा घर्तीमगरका अनुसार पछिल्लो पुस्ता पोका नूनतर्फ आकर्षित भएपनि अघिल्लो पुस्ताका केही व्यक्तिले भने अझै ढिके नूनको प्रयोग गर्न रुचाउँछन् ।
‘गाउँतिर पोके नून तीतो हुन्छ, शरीर चिलाउँछ भन्छन् त्यसैले ढिके नूनको प्रयोग गर्छन्,’ उनले भने । यी त प्रतिनिधि पात्र मात्र हुन् । रोल्पामा यस बाहेक अन्य घरपरिवारमा पनि ढिके नूनले नै प्राथमिकता पाउँदै आएको सुवर्णावती गापा–६ गजुल रोल्पाका पूर्व शिक्षक खोविलाल सुवेदीले बताए । उनका अनुसार पहिलो कुरा त जनचेतनाको अभाव नै हो भने दोस्रो कुरा ढिकेनून भन्दा आयोडिनयुक्त पोका नून महँगो पर्ने हुँदा न्यून आय भएका परिवारले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आएका हुन् । यस विषयमा उनीहरूलाई सचेत बनाउन सके आयोडिनयुक्त नूनको प्रयोगमा वृद्धि हुनसक्ने सुवेदीको धारणा छ ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका खोप सुपरीवेक्षक लालबहादुर ठाकुरका अनुसार कार्यालयले दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नूनको प्रचारप्रसारका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ । उनका अनुसार कार्यालयले यसवर्ष पनि फेब्रुुअरी महिनालाई आयोडिनयुक्त नूनको महिनाका रूपमा मनाएको छ । सो अवसरमा सरकारी तथा गैरसरकारी कार्यालयहरूको प्रयासमा जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा तुल टाँगिएका छन् भने प्रत्येक नपा तथा गापाका माध्यमिक तहका विद्यालयमा आयोडिनको प्रचारप्रसारसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । तर हरप्रयास गर्दा पनि जिल्लामा ढिकेनूनको प्रयोग भइरहेकाले सरकारबाटै ढिकेनूनको बिक्री वितरणमा रोक लगाइनुपर्ने उनको सुझाव छ ।
उनका अनुसार एकपटक आयोडिन नूनको कमी भयो भने जीवनभर औषधि सेवन बाहेक दोस्रो विकल्प रहँदैन । प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले ढिके तथा खुल्ला बेचिने नूनबाट पर्याप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नून प्रयोग नगर्न सरोकारवाला सबैसँग अनुरोध गरेका छन् । आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नून नै प्रयोग गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार आयोडिनयुक्त नूनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने, आयोडिनयुक्त नून नपखाली खाने, आयोडिनयुक्त नूनलाई दाल, तरकारी पाकेपछि मात्र हाल्ने तथा नून किन्दा अनिवार्य रूपमा नूनको पाकेटमा लेखिएको कुरो एकपटक सर्सती पढ्ने बानीले आयोडिनको कमी हुनबाट बच्न सकिन्छ ।
यता, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड डिपो कार्यालय रोल्पाका डिपो प्रमुख बसन्त थापाका अनुसार गत आवमा अञ्चल कार्यालय नेपालगन्जबाट डिपो कार्यालय रोल्पामा एकहजार ६०० क्विन्टल आयोडिनयुक्त पोका नून भित्रिएको थियो । यसमध्ये गत आवमा ६८८ क्विन्टल मात्र बिक्री भएको थियो । गत आवको नून हालसम्म पनि बिक्री वितरण भइरहेको छ । कार्यालयले प्रतिव्यक्ति १० पोका मात्र दिने गरेको छ । व्यापारीले दुरूपयोग नगरुन् र सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने उद्देश्य राखिएको भएपनि सेवाग्राहीले डिपो कार्यालयमार्फत लाभ लिन नसकिरहेको उनको भनाइ छ ।
डिपो कार्यालयका सहायक समृद्धि थापाका अनुसार सेवाग्राहीले एक पटकमा २०/२५ पोकासम्म लिन चाहेपनि १० पोका भन्दा बढी दिन नसकिने भएपछि कार्यालयबाट सोचेअनुरूप आयोडिनयुक्त पोका नून बिक्री वितरण हुन सकिरहेको छैन । उनले पनि दूरदराजका जनताले अझै ढिकेनून प्रयोग गर्दै आएको बताए । रासस

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु