global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे


दाङ । राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ ।
दैनिक २०० देखि २५० सम्म बिरामी यसअघि अस्पतालमा आउने गरेकोमा हिजोआज भने ३५० देखि ४०० सम्म आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिएका छन् ।
आइतबार मात्र करिब ४०० भन्दा बढी आँखाका बिरामीले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । सोमबार पनि अस्पतालमा बिहानैदेखि भिडभाड रहेको बताइएको छ । मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीका कारण आँखामा धुलो परी एलर्जी हुने भएका कारण आँखामा विभिन्न समस्या देखापर्ने गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, कुनै भाइरलको प्रकोप नभएता पनि मौसम परिवर्तनसँगै आँखाका बिरामी बढेका छन् । ‘पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ, ओपिडीमा दैनिक ३५० देखि ४०० सम्म बिरामीको आँखा चेकजाँच गर्ने गरेका छौँ,’ गौतमले भने । साथै, अस्पतालमा हाल नेत्र सहायक र नेत्ररोग विशेषज्ञलाई बिरामी हेर्न भ्याइनभ्याइ हुने गरेको उनले बताए । अस्पतालले आँखामा समस्या देखिनासाथ अस्पतालमा आउन बिरामीलाई आग्रह गरेको छ ।
आँखा जस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्बाही नगर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । ‘आँखाको समस्या देखिनासाथ अस्पतालमा आउन आँखाका बिरामीलाई आग्रह गर्दछौँ,’ नेत्र अधिकृत गौतमले भने । साथै, अस्पतालले दैनिक चार/पाँच पटक चिसोपानीले आँखा सफा गर्ने र धुलो तथा धुवाँबाट बचे आँखा चिलाउने र बिजाउने रोगबाट केही हदसम्म बच्न सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु