गृहपृष्ठ शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित


कविता उपाध्याय । लिबाङ (रोल्पा) । पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्ता लागेको हो ।
गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्षिया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्सबाट संक्रमण भएको पत्ता लागेको थियो । श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमान्को रगत जाँच गरियो र श्रीमान् पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा सुशील आचार्यका अनुसार श्रीमान् श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पी सी आर गर्न नमूना लिइएको थियो । डा आचार्यका अनुसार बच्चाको पी सी आर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो । सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ ।
विवाह लगत्तै गर्भवती भएकी नवजात शिशुकी आमाले आफू एचआइभी एड्सबाट संक्रमित भएकोबारे केही थाहा नपाएको बताए । उनले भने, ‘गर्भ रहेपछि असह्य पीडा हुने गरी गुप्तांग चिलाउँथ्यो । घाउ खटिरा पनि देखिन थालेको थियो । त्यसबेला उपचार नगरेर धामी झाँक्रीमा विश्वास गरें । धामी झाँक्रीले खानेपानीको मूलमा देउराली लागेर यस्तो बनाएको भनेपछि त्यसमै विश्वास गरेर धेरै पैसा खर्च गरें जसका कारण आज यति ठूलो धोका खानुप¥यो ।’
अठार वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित बुढामगरले एक वर्ष पहिले गाउँकै ३८ वर्र्षीया युवतीसँग मागी विवाह गरेका थिए । उनले विवाह पूर्व वैदेशिक रोजगारीका क्रममा आफ्नो चार जनासँग असुरक्षित यौन सम्पर्क भएको बताए । श्रीमानले असुरक्षित यौन सम्पर्क राखेका कारण श्रीमती र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । हाल यो जोडी निकै सन्तापमा छ ।
श्रीमानले गरेको गल्तीको शिकार आफू र भर्खरै जन्मिएकी छोरी बन्नुपर्दा नवजात शिशुकी आमा निकै भावविह्वल बनेकी छन् । उनले भनिन्, ‘एचआइभी एड्स भनेको सुनेकै थिइनँ तर, आज आफूले यस्तो भोग्नु प¥यो । यस्तो जानेको भए विवाह नै गर्ने थिइनँ । बेलामा बुद्धि नपु¥याउँदा जिन्दगी बरबाद भयो । गाउँलेले पनि हेलाँको दृष्टिले हेर्न थालेका छन् । समाजमा मुख देखाएर बाँच्न गाह्रो हुने भयो । अब विवाह गर्ने जोडीलाई पहिले रगत जाँच गरेर मात्र विवाह गर्न सल्लाह दिन्छु ।’ आर्थिक संकट सुल्झाउन भन्दै हिजै सोमबार रोजगारीका लागि श्रीमान् काठमाडौँ गएपछि श्रीमतीमा थप आशंकासँगै निराशा थपिएको छ ।
आफूहरुलाई भन्दा पनि छोरीको भविष्यको चिन्ताले दुबैलाई पिरोल्न थालेको छ । अभाव र गरिबीमा पिल्सिँदै आएको यो परिवारको भविष्य अन्यौलमा रहेको आफन्तजनले बताएका छन् । यी थप तीन जनासहित हाल यस जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ । जिल्लामा यस बाहेक अन्य केही परिवार पनि श्रीमानका कारण संक्रमित भएको बताइन्छ । जिल्लामा २६ जना महिला र २६ जना पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश श्रीमानकै कारण संक्रमित बनेका हुन् । रासस

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु