Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

सेयर बजार १५ अंकले बढ्दा सर्वाधिक मूल्य बढ्ने यी १० कम्पनी

न्युज कारोबार काठमाडौं पुस २३, २०७७       

सेयर बजार १५ अंकले बढ्दा सर्वाधिक मूल्य बढ्ने यी १० कम्पनी
सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार पनि बढेको छ । आइतबार ८८ अंकले बढेर सोमबार र मंगलबार क्रमशः ६ र ३ अंक घटेको बजार बुधबार १३ र बिहीबार १५ अंकले बढेको हो । अन्यबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १५.९१ अंकले बढेर २१९४.४८ अंकमा उक्लिएको छ । व्यापार ४.७९ र उत्पादनमूलक २.०६ अंकले बढेको बजारमा बाँकी समूह सामान्यमात्र बढेका छन् । बिहीबार २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा बढी हो । बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रूपैयाँको सेयर खरिद‑बिक्री भएको थियो । बजार उकालो लाग्दा मल्टीपर्पोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मिर्मिरे माइक्रोफाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैँक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै गुर्खाज फाइनान्सको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ भने सिभिल लघुवित्त, एनएलजी इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र एभरेस्ट इन्स्योरेन्स कम्पनी पनि ७ प्रतिशतभन्दा धेरैले बढेर सर्वाधिक मूल्य बढ्ने १० कम्पनीको सूचीमा परेका छन् । बिहीबार प्रभु बैँकको सर्वाधिक ३१ करोडको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड, चिलिमे हाइड्रोपावरको २४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड, एनआईसी एसियाको २२ करोड र हिमालयन डिस्टिलरीको २० करोडको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबरहरु