nmb bank

गृहपृष्ठ ज्यान जोखिममा पारेर पढ्न बाध्य विद्यार्थी

ज्यान जोखिममा पारेर पढ्न बाध्य विद्यार्थी

ज्यान जोखिममा पारेर पढ्न बाध्य विद्यार्थी


डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तरगत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।
‘विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक रमानन्द उपाध्यायले भने, ‘कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्,’ उनले थपे । जीर्ण भवन मर्मतका लागि जिशिका लगायतका थुप्रै संघ संस्थालाई अनुरोध गर्यौ तर पनि कसैले नसुनेको उनले गुनासो गरे ।
कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए ।
‘जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ,’ शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गरे । ‘पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छौं, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गराँैँ भने कोठाको अभाव छ,’ शिक्षक खत्रीले भने ।
उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताए । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु