गृहपृष्ठ साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधारः उद्योगमन्त्री यादव
साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधारः उद्योगमन्त्री यादव

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम साना उद्योगः अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको सोमबार राजधानीमा आयोजित २४ औं वार्षिक साधारणसभा तथा २१ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको समुदघाटन समारोहमा बोल्दै उहाँले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले मुलुकमा उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिवद्घता व्यक्त गरेर नयाँ सरकार आएको भन्दै उहाँले भन्नुभयो – ‘हामी मुलुकमा औद्योगिकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिवद्घताका साथ चुनाव लडेर निर्वाचित भएर आएका हौं उद्योगी÷व्यवसायीहरु ढुक्क हुनुहोस हामीले प्रतिवद्घता पुरा गर्छौं ।’
मन्त्री यादवले मुलुकमा नेपालको अहिलेको समस्या भनेकै आफ्नो उत्पादन सस्तोमा बिक्री गर्ने र अरुको उत्पादन महङ्गोमा किन्नुपर्ने वाध्यता रहेको बताउनुभयो । नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो– ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’
यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको उहाँले प्रष्ट पार्नुभयो ।
मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भन्नुभयो –‘मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको हीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीब्रताका साथ गर्ने छौं ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभयो ।
उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उहाँले सरकारले स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तराष्ट्रि नियोगसँग सहकार्य गर्ने समेत बताउनुभयो ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उहाँले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाई राख्नुभयो ।
उहाँले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताउनुभयो । समग्रमा लघु, घरेलु तथा साना उद्योग व्यवसायमा रहेका समस्याहरू पेश गर्न आग्रह गर्दै घरेलु तथा साना उद्योगीहरुका सल्लाह र सुझावबाट आगामी दिनमा कार्ययोजना तय गरिने प्रतिवद्घता जनाउँदै उहाँले भन्नुभयो –‘हामी कहाँ छौं भन्ने नै अहिले थाहा छैन हामी कहाँ छौं भन्ने नै थाहा नभएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन, यहाँहरुले उठाउनुभएका जेन्युन कुराहरु छन् तिनलाई राज्यले सम्बोधन गर्नुपर्छ, सहकार्यबाट कसरी अगाडि बढ्ने, सरकारकोतर्फबाट के के गर्ने सुझाव र सल्लाहबाट अगाडि बढ्ने हो ।’
तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने उहाँले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन भएसंगै मुखरित हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्व सहित विकास र आर्थिक समृद्घिको अभियानमा तिब्रतर गतिमा अग्रसर हुने हामी समेतले अपेक्षा गरेको बताउनुभयो । राजनीतिक मुद्दाहरुको समाधान भइसकेको वर्तमान परिप्रेक्ष्यमा अब मुलुकले आर्थिक क्रान्तिलाई मुख्य एजेण्डा बनाई नयाँ नेपाल निर्माण गर्ने अभियानमा सरकारले महत्वपूर्ण दायित्व निर्वाह गर्दै आर्थिक क्षेत्रका उपयुक्त एजेण्डालाई प्रमुखताका साथ अगाडी बढाउने अपेक्षा हामी लघु, घरेलु तथा साना उद्योगीहरुले गरेका छौं र यस महत्वपूर्ण घडीमा सरकारले चाल्ने आर्थिक सम्बृद्धि र विकासको हरेक पाइलामा लघु घरेलु तथा साना उद्योगीहरुको छाता संस्था हैसियतमा हामी भरपुर सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
विगतमा सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने गरि सञ्चालन गरेका कार्यक्रमहरुले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेको वर्तमान अवस्थामा अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलश्रोत र मानीवय सम्पदालाई अधिकतम उपयोग गरि आगामी ५ बर्ष भित्रैमा जनतालाई अनुभूत हुने गरि अर्थतन्त्रमा छलाङ मार्ने चुनौती र अवसर यो सरकार काँधमा रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
हामी लघु, घरेलु तथा साना उद्योगीहरु पनि हिजो देखी नै परम्परागत वस्तु उत्पादनमै सीमित रहेका छौं । ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैह्रकाष्ठजन्य बन, जडिबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्ने तर्फ हामीले पर्याप्त ध्यान दिन नसककोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । यही कारण हाम्रा उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको छ । तसर्थ अवका दिनमा हामीले हाम्रो व्यवसायलाई विविधिकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्दछ र तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नु पर्दछ भन्ने महासंघको बुझाइ रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष गिरीले हाम्रो बिगतको अनुभवमा सरकारले पनि चलिरहेका लघु घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती गरि स्वदेशमै रोजगारी श्रृजना गर्ने भन्दा पनि बैदेशिक रोजगारका लागी सीप विकासमा बढि केन्द्रित भएको हामीले महशुश गरेको बताउनुभयो ।
प्रकाशित समय : ०१:३६ बजे