Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

नेपाली कांग्रेस के चाहन्छ ? सत्ता कि संविधान ?

न्युज कारोबार काठमाडौं माघ ४, २०७७       

नेपाली कांग्रेस के चाहन्छ ? सत्ता कि संविधान ?
नेपाली कांग्रेस सत्ता कि संविधान भन्ने 'झगडामा' फस्दै गएको छ । असंवैधानिक ढंगले संसद विघटन गरेर केपी शर्मा ओलीले हचुवामा चुनाव घोषणा गरेपछि कांग्रेसका नेतामा बेचैनी बढेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भए चुनावमा जित सुनिश्चित हुने लालच पालेको कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतका केही नेता चुनावको रटान लगाइरहेका छन् । जबकि, पुस १९ गतेको केन्द्रीय कार्यसमिति बैठकले 'केपी ओली नेतृत्वको वर्तमान सरकारले गरेको प्रतिनिधि सभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल वदनियतपूर्ण निन्दनीय कार्य भएको' ठहर गरेको छ । ओलीको असंवैधानिक कदमविरुद्ध दबाबमा आन्दोलन घोषणा गरेको कांग्रेसका सभापति देउवा जहाँ‑जहाँ विरोध सभालाई सम्बोधन गर्न पुग्छन्, त्यहाँ‑त्यहाँ 'कांग्रेस चुनावमा जान्छ' भनिरहेका छन् । संसद विघटनलाई आफ्नै दल, नेकपाको प्रचण्ड‑माधव समूह, जनता समाजवादी पार्टी, बुद्धिजीवी, कानुनविद, संविधानविद, नागरिक समाज र आमनागरिकसमेतले असंवैधानिक भनिरहेका बेला सर्वोच्चमा विचाराधीन विघटनविरुद्धको मुद्दालाई कमजोर बनाउने गरी कांग्रेसकै नेताहरू बोलिरहेका हुन् । कांग्रेस नेता डा. शुक्रबार कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले लिने निर्णय पार्टीलाई स्वीकार्य हुने बताए । मानवअधिकार तथा शान्ति समाज मोरङ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष निर्णय सुनाउनेमा विश्वस्त रहेको पनि बताए । तर, सर्वोच्चलाई प्रभावित बनाउन प्रधानमन्त्री ओलीबाट भरमग्दुर प्रयास भइरहेका तथ्यहरू दिनहुँ सार्वजनिक भइरहेका छन् । संविधान, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको भन्दै गर्दा आफ्नो अभिव्यक्तिले विचाराधीन मुद्दा कसरी प्रभावित हुनसक्छ भन्नेमा कोइराला सचेत देखिएनन् । केही नेताहरू चुनावका पक्षमा देखिइरहँदा केही नेता भने केपी ओलीको कदम असंवैधानिक भएकाले संविधान बचाएरमात्र कांग्रेस चुनावमा जाने बताइरहेका छन् । नेता डा. मीनेन्द्र रिजालले त सभापतिले सीमाबाहिर गएर बोलेको भन्दै आपत्ति नै जनाइसकेका छन् । अन्य नेताले पनि चुनावभन्दा ठूलो संविधान भएको बताइरहेका छन् । उनीहरूले प्रजातान्त्रिक मूल्य मान्यतालाई शिरमा राखेको कांग्रेसले संविधानलाई सही दिशामा नल्याईकन चुनावमा जाने कुरा गर्नु सर्वथा गलत हुने तर्क गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संविधान रक्षाको पक्षमा वकालत गरिरहेका छन् । उनी संविधानलाई बचाएरमात्र चुनावमा जान सकिने बताउँछन् । केपी ओलीबाट प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याएरमात्र जानुपर्ने बताए । संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, 'संविधानलाई बचाएरमात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला ।' केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पुनःस्थापना अपरिहार्य रहेको तर्क गरे । कम्युनिस्ट पार्टी फुटेकाले संसद पुनःस्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनको दाबी छ । सभापति देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना रहेको भन्दै नेता पौडेलले भने, 'अब फेरि प्रधानमन्त्री तपाईं नै हो, चुनाव‑चुनाव भन्न जरुरी छैन ।' उनले न्यायाधीशहरुमाथि सबैलाई विश्वास रहेकाले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।

सम्बन्धित खबरहरु