गाउँदेखि सहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाले विकासमा गति लिएको छ । स्थानीय जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेका छन् ।
महानगरमा महानगरपालिका, बागमती प्रदेश सरकार र संघ सरकारका आयोजना सञ्चालनमा आएसँगै विकासका कामले गति लिएका छन् । महानगरपालिकको अगुवाइमा प्रदेश र संघ सरकारको साथका कारण महानगरमा ठूला आयोजना अघि बढेका छन् । भरतपुरभित्र एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन र निर्माणको तयारीमा छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ ६ लेन सडक, नारायणी नदीकिनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिंक रोडको काम धमाधम भइरहेको छ । नारायणगढको लायन्स चोकमा बहुद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा छन् ।
महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रंगशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीव्र गतिमा अघि बढिरहेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण अघि बढाएको हो । यो परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय स्तरका खेल यहाँ हुनेछन्, जुन नेपालको महत्वपूर्ण परियोजनामध्येको एक बन्ने दाहालको भनाइ छ । यो आयोजना निर्माणको काम रातदिन भइरहेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १ र ३ को नारायणी नदीकिनारालाई ‘सी बिच मोडेल’मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्ने र आर्थिक क्रियाकलापमा बढाउने गरी काम अगाडि बढाइएको छ । नगर प्रमुख दाहालका अनुसार यसका लागि गत वर्ष महानगरबाट एक करोड रकम खर्च भई फुटपाथ बनेको छ । चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब सात करोडको बोलपत्र आह्वान भइसकेको छ । यससँगै यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
यस्तै भरतपुर महानगरपालिका ११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने धमाधम काम भइरहेको छ । उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्कलगायतका संरचना बन्नेछन् । गणेशधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको प्रमुख दाहालले बताइन् ।
बाइपास सडक किनारमा सिटीहल निर्माणले पनि तीव्रता पाएको छ । केन्द्र सरकारको ७७ करोड ७७ लाख बजेटमा सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण अघि बढेको हो । महानगरकै पहलमा जिल्ला समन्वय समितिको जमिन महानगरको नाममा ल्याएर काम अगाडि बढाइएको दाहालले जानकारी दिइन् । 'हाम्रो तेस्रो प्रयासपछि महत्वपूर्ण आयोजना अघि बढेको छ । यसले सिंगो चितवनको विकासमा टेवा पुग्ने विश्वास छ,' उनले भनिन् । सँगै रहेको बाइपास सडक विस्तारको काम भइरहेको छ ।
भरतपुर महानगर क्षेत्रमा पर्ने पूर्व‑पश्चिम राजमार्गलाई आकर्षक ६ लेन सडक बनाइँदै छ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म सडक विस्तार गर्न एक अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ । आधुनिक र व्यवस्थित फुटपाथसहितको सडक निर्माण हुनुका साथै महानगरको सौन्दर्यमा वृद्धि हुने दाहाल बताउँछिन् ।
आधुनिक र व्यवस्थित फुटपाथसहितको सडक निर्माणले महानगरको सौन्दर्यमा वृद्धि हुने नगर प्रमुख रेणु दाहाल बताउँछिन् ।
भरतपुर महानगरपालिका हुँदै चितवनको ठोरीसम्म पुग्ने हुलाकी सडकको काम पनि भइरहेको छ । महानगरभित्र पर्ने हाकिमचोक‑जगतपुर सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई सात मिटर कालोपत्रे बनाउने र बाँकी नौ किमी सडकलाई सतह ढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
चौबिसकोठी‑ रामपुर‑ चनौली‑ मेघौली सडकखण्डमध्ये हाल रामपुर‑चनौलीखण्ड निर्माण सम्पन्न भएको छ भने चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अघि बढेको छ । नगर प्रमुख दाहालका अनुसार ६५ किलोमिटर लिंकरोडको काम अघि पनि बढिरहेको छ ।
यसैगरी भरतपुर महानगरपालिका २० मा प्रदेशस्तरको उद्योगग्राम र वडा नम्बर २१ पार्वतीपुरमा संघीय उद्योग ग्राम निर्माण अघि बढेको छ । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शवदाह स्थल बन्दै छ । महानगरपालिकाभित्र नै नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माणको काम धमाधम भइरहेको दाहालले जानकारी दिइन् । महानगरभित्र विभिन्न आयोजना गरी खानेपानीतर्फ मात्रै दुई अर्ब ४१ करोडभन्दा बढीका आयोजना सञ्चालनमा रहेको उनको भनाइ छ । महानगर पूरै क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताइन् ।
महानगरभित्र रहेको संघीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि महानगरले काम गरिरहेको नगर प्रमख दाहाल बताउँछिन् । महानगरभित्र नारायणगढको लायन्स चोकमा बहुद्देश्यीय भवन निजी क्षेत्रमार्फत सम्पन्न गर्न बोलपत्र आह्वान भई प्राविधिक प्रस्तावसमेत पारित भइसकेको छ ।
तीस वर्षका लागि निजी क्षेत्रलाई उक्त भवन निर्माण र सञ्चालन गर्न दिन लागिएको हो । दाहालका अनुसार सो परियोजनाका लागि निजी क्षेत्रले एक अर्ब ७५ करोड हाराहारी खर्च गर्नेछन्, जहाँ पाँच तारे होटलदेखि अन्य महत्वपूर्ण व्यवसाय रहनेछन् । प्रमुख दाहालले यसलाई महानगरको गहनाको रुपमा चित्रित गर्ने गरेकी छन् ।
यस्तै महानगरको भरतपुरमा हाल रहेको विमानस्थल विस्तारका लागि काम सुरु भएको छ । विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकाले विमानस्थल विस्तार एवं सुधार गर्न लागिएको उनले बताइन् । महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रका लागि वैकल्पिक जग्गासमेत तयार गरिसकेको जनाएको छ ।
महानगरपालिकाको मुख्य सहरी क्षेत्रका सडकमा ११ करोड ४९ लाख ८९ हजार लागतमा स्मार्ट बत्ती जडानको काम पनि सुरु हुन थालेको छ । उक्त योजनाको बोलपत्र आह्वान भई काम अघि बढेको छ । महानगरका उपप्रमुख पार्वती शाहले जनप्रतिनिधि आएसँगै महानगरको योजनाबद्ध विकास अघि बढेको बताइन् । 'आवश्यकता र औचित्यका आधारमा विकास अघि बढाइएको छ,' उनले भनिन्, 'महानगरमा ठूला आयोजनासँगै साना धेरै आयोजना अघि बढिरहेका छन् ।'
महानगरभित्र अधिकांश सडक कालोपत्र गर्ने काम भइरहेका छन् । व्यवस्थित विकासमा महानगर जुटिरहेको शाह बताउँछिन् । देशकै नमुना सहरका रुपमा भरतपुरलाई विकास गर्ने गरी योजना अघि बढाइरहेको उनको भनाइ छ ।
यो क्षेत्रका प्रदेशसभा सदस्य विजय सुवेदीले तीन तहको सरकारको समन्वयमा भौतिक विकासका काम अघि बढिरहेको बताए । स्थानीयबासीले पनि विकासमा सहभागिता जनाउँदै साझेदारीको रुपमा काम गरिरहेका छन् । 'भरतपुर विकासको गतिमा छ, यसले अग्रगमन लिइरहेको छ,' उनले भने । (रासस)