nmb bank

गृहपृष्ठ प्रेम दिवस : प्रेम कम, विकृति बढी

प्रेम दिवस : प्रेम कम, विकृति बढी

प्रेम दिवस : प्रेम कम, विकृति बढी

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । प्रेम गर्ने करोडौँ जोडीहरुका लागि आजको दिन विशेष मानिन्छ । आफूले माया गरेको प्रिय मान्छेलाई प्रेम व्यक्त गर्ने यो दिन निकै महत्वको साथ विश्वभर मनाइन्छ । पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउने प्रचलन व्यापक बन्दै गएको छ ।

आफूले मन पराएको तर त्यो कुरा व्यक्त गर्न नसकेकाहरुले आजको दिन प्रेम प्रस्ताव राख्ने र आफ्नो प्रेमलाई सफल बनाउन प्रयत्न गर्ने दिन भएकाले पनि यो दिन विशेष छ । प्रेम आफैँमा विशेष शब्द हो । अझ यस दिवसले प्रेमलाई सुनमा सुगन्ध थपिदिएको हुन्छ । यो दिवसले प्रेमलाई थप रोमाञ्चक र उत्साहप्रद बनाइदिएको हुन्छ । प्रेम के हो ? भन्ने प्रश्नमा विश्वव्यापी मान्यताप्राप्त साझा उत्तर त छैन । तर, प्रेमलाई हरेक मानिसको ढुकढुकी भन्दा फरक नपर्ला । किनकि, संसार प्रेममा अडेको छ । त्यसैले ढुकढुकी छउञ्जेल जीवन अनि जीवन छउञ्जेल प्रेम । अझ भनौँ प्रेम नै जीवन हो । जीवनमा कोही हुनु र नहुनुमा धेरै अन्तर हुन्छ । यहाँ नारायण गोपालको स्वर रहेको गीत ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा . .’ सान्दर्भिक हुन्छ । जब जीवनमा आफूलाई माया गर्ने, वास्ता गर्ने कोही हुन्छ । अनि, जीवन जीवनजस्तै हुन्छ । सार्थक हुन्छ । त्यसैले त प्रेम यति धेरै महत्वपूर्ण छ । धेरैले प्रेम विपरीतलिंगीबीच हुने आकर्षण भन्छन् । हुन पनि युवायुवतीको लागि बढी चासोको विषय नै प्रेम हुने गर्दछ । तर प्रेम यतिमा मात्र सीमित छैन । आमाबुवा, दाजुभाइ, दिदीबहिनी, साथीसंगी, आफन्तसँग पनि प्रेम हुन्छ ।

‘भ्यालेन्टाइन डे’को सुरुवात

इस्वी सम्वत २६९ को तेस्रो शताब्दीको अन्त्यतिर इटालीको रोमबाट यस दिवसको सुरु भएको हो । रोमका सम्राट क्लोडियसले पुरुषहरुले विवाह गरे घरगृहस्थीमा अल्मलिने र नारीसँगको सम्बन्धका कारण गोप्य सूचनाहरु बाहिर जाने बताउँथे । यही कारण रोममा प्रेम र विवाह गर्न पूर्ण रुपमा बन्देज लगाइएको थियो । सम्राटको आदेशलाई भ्यालेन्टाइन नामका पादरीले भने विरोध गर्दथे । उनले सबै सैनिकहरुलाई ‘प्रेम गर्नु पाप हैन’ भन्दै विवाह गर्न उक्साए । पादरी भ्यालेन्टाइनले सम्राटको आदेशलाई उल्लघंन गर्दै धेरै जोडीहरुको सामूहिक रुपमा प्रेमविवाह नै गरिदिए । यो कार्यले साह्रै रिसाएका सम्राटले भ्यालेन्टाइनलाई मृत्युदण्डको फैसला सुनाए ।

मर्नुअगाडि उनले जेलरकी दृष्टीविहीन छोरीको नाममा एउटा प्रेमपत्र लेखेका थिए । जसको मुनितिर लेखिएको थियो, ‘फ्रम योर भ्यालेन्टाइन’ । प्रेमपत्रसँगै उनले गुलाबको फूल उपहार पठाएका थिए । मृत्युअघि उनले जेलरलाई भनेका थिए, ‘मृत्युपछि मेरो आँखा तपाईंको छोरीलाई दिनुहोला ।’ यहीँबाट प्रष्ट हुन्छ कि, जेलरकी छोरीसँग उनको प्रेम थियो । उनलाई इसापूर्व २७० को फेब्रुअरी १४ तारिखकै दिन मृत्युदण्ड दिइएको थियो । त्यही समयदेखि पादरी भ्यालेन्टाइनको सम्झना उनको त्याग र बलिदानको सम्मान गर्दै ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।

पछिल्लोसमय प्रेम दिवसको नाममा धेरै विकृतिहरु फैलिएको पाइन्छ । हुन त प्रेम दिवस नेपाली संस्कृति पनि हैन । यसो भन्दैमा नेपालीहरुले प्रेम दिवस मनाउनु हुँदैन भन्ने होइन । पश्चिमी संस्कृति भए पनि प्रेमलाई प्रकट गर्ने दिन भएकाले यो दिवस सबैको साझा हो । किनकि प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सिमाना हुँदैन । जात, धर्म लिंग, वर्ण, धनसम्पत्ति सबै कुरा साँचो प्रेमको अगाडि फिक्का हुन् । हामीले बुझ्नुपर्ने कुरा, कुन पर्व वा दिवसलाई कति प्राथमिकता वा महत्व दिने भन्ने मात्र हो । संस्कृति चाहे जहाँको होस्, त्यसमा विकृति ल्याइनु हुन्न । त्यसको मौलिक पक्षको जगेर्ना गर्नुपर्छ । तर हिजोआज युवा पुस्ताले आफ्नो संस्कृति भूलेको हो कि भन्ने भान हुन्छ । हुन त हरेक कुरामा देखासिकी बढेको छ । अरुको नक्कल गर्ने प्रवृत्ति बढेको छ । फलस्वरुप युवा पुस्ताले आफ्नो मौलिकतालाई बिर्सन थालेका छन् । किशोरावस्थासमेत नपुग्दै ‘गर्लफ्रेन्ड’ र ‘ब्वाइफ्रेन्ड’ बनाउन होड नै चलेको छ ।

सूचना र प्रविधिमा बढ्दो पहुँचले पनि हुनसक्छ, अहिलेको प्रेम शारीरिक आकर्षणमा सीमित हुन थालेको छ । जसको परिणामस्वरुप बलात्कार, हत्याजस्ता घटनाहरु बढिरहेको सरोकारवालाहरुले उल्लेख गरेका छन् । यो पर्व मनाउने बहानामा अनेक अनैतिक क्रियाकलापहरु बढेका छन् । अभिभावकबाट छलेर एकान्त ठाउँमा जाने, कुलतमा फस्ने प्रवृत्ति युवायुवतीमा देखिन थालेको छ । साथै महँगो विलासी सामान आदान-प्रदान गर्ने तथा प्रेम प्रस्ताव राख्ने नाममा जबर्जस्ती गर्नेजस्ता विकृतिहरु बढेका छन् ।

नेपालमा एक जमाना थियो । जहाँ प्रेम गर्न पनि डराउनुपथ्र्यो । महिला र पुरुष एकसाथ हिँड्न पनि हिच्किचाउँथे । साधारण लेखपढ गर्न जानेकाहरु लुकीछिपी चिठ्ठीमार्फत प्रेमभाव पोख्थे । उबेला कतै मेलापात र घाँसदाउरा गर्दा वा हाटबजारमा आँखा ठोक्किएकै भरमा पनि एकअर्कामा प्रेम हुन्थ्यो । तर, त्यसरी भएको प्रेम निकै महत्वको हुन्थ्यो । निस्वार्थ, साँचो र पवित्र हुन्थ्यो । अहिले भने प्रेम गर्ने शैली बदलिएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल लगायतले प्रेम व्यक्त गर्न निकै सहज बनाइदिएको छ । तर, जसरी सहजै प्रेमको सुरुवात हुन्छ, त्यसको समाप्ति पनि सहजै हुने गरेका कारण प्रेमको मूल्य घट्दै गएको छ ।

प्रेम जबर्जस्ती हुने कुरा हैन । यो त मनभित्रबाट आफैँ हुने कुरा हो ।रुप, यौवन र धन छउञ्जेलको लागि हुने प्रेम आकर्षण मात्र हो । प्रेम त्यो हो जसमा निस्वार्थ भावना लुकेको हुन्छ । त्यसैले प्रेम दिवसको नाममा ‘म तिमीलाई प्रेम गर्छु’ भनेर कसैलाई जबर्जस्ती दुख दिने कार्य हुनुहुन्न । प्रेम दुवैको सहमतिमा हुनुपर्छ, तब मात्र प्रेम सफल हुन्छ । यो दिवस केवल युवायुवतीका लागि मात्र हैन, हरेक मानिसका लागि पनि हो । आजको दिन आफ्नो परिवारसँग माया साटौँ, प्रेम बाँडौँ, साथीभाइसँगको मित्रता अझ प्रगाढ बनाऔँ । सबैभन्दा धेरै प्रेम आफैँलाई गरौँ । सबैलाई प्रेम दिवसको शुभकामना ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु