global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पाँचखालमा सम्पदा उत्खनन : ढुंगाको गारो भेटियो

पाँचखालमा सम्पदा उत्खनन : ढुंगाको गारो भेटियो

पाँचखालमा सम्पदा उत्खनन : ढुंगाको गारो भेटियो

पाँचखाल नगरपालिकास्थित लिच्छविकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुंगाको गारो भेटिएको छ । पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननका क्रममा २४ इन्चका गारो भेटिएको हो ।

विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खननका क्रममा ढुंगाको गारोको केही भाग भेटिएको जानकारी दिए । उनले भने, ‘स्थानीयवासीको भनाइअनुसारका कल्चरल सिक्वेन्स मिल्छ कि मिल्दैन, अध्ययन र परीक्षणपछि मात्र थाहा हुन्छ ।’ उनले दरबार क्षेत्र भनिएको स्थानमा ढुंगाको गारो भेटिएकाले कति कोठाका कस्तो दरबार थियो भन्नेबारे केही दिनपछि मात्रै थाहा हने बताए ।

स्थानीयवासीले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए । विभागको टोलीले यही वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय तथा पाँचखाल नपा कार्यलयलाई सम्पदा उत्खननसम्बन्धी जानकारी दिई उत्खनन थालेको थियो ।

पाठकको नेतृत्वको टोलीमा पुरातत्वविज्ञ उद्धव आचार्य तथा इन्जिनियरलगायत छ जनाको टोली दुई हप्ता पाँचखालमै बसेर अध्ययन अनुसन्धान गर्नेछ । स्थानीय बुढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुंगेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए ।

स्थानीयको खेतको गरा खन्ने क्रममा २६ इन्चको पुरानो, खण्ड–खण्डमा कोठा रहेको जस्तो घरको गारो तथा पर्खालसमेत भेटिएको थियो ।

उत्खननका क्रममा ढकालकै खेतभन्दा माथि रहेको स्थानमा ढुंगाको गारो भेटिएको हो । प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र अंकित छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयवासीले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ । स्थानीय नवराज ढकालले आफ्नो खेत खनजोत गर्दा माटाको घैँटोमा केही सिक्का भेटिएको समेत बताए ।

गत वर्ष चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला परेपछि पुरातत्व विज्ञ आचार्यसहितको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । उनका अनुसार स्थानीयवासीको भनाइमा पाँचखालमा तत्कालीन राजा मानदेव र अंशु बर्माको दरबार तथा रानीपोखरीलगायतका संरचना छन् ।

प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री, घरको जग, पँधेरो, शिवलिंग, ढुंगेधारालगायत भेटिएको र ती लिच्छविकालीन नै भएकाले स्थानीयवासीको मागका आधारमा विभागले टोली खटाई वैशाख दोस्रो साताबाट उत्खनन कार्य सुरु गरिएको अधिकृत पाठकले बताए । विभागले गत चैत अन्तिम साता उत्खननविज्ञ आचार्यसहितको एक टोली पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो ।

‘प्रारम्भिक अनुसन्धानमा भेटिएका ऐतिहासिक प्रमाण लिच्छवीकालीन हुन्,’ आचार्यले भने, ‘ती लिच्छविकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।’ उनले यसअघि विभागलाई पाँचखालका सम्पदाको थप अध्ययन एवं उत्खनन गर्न सुझाव दिएको बताए ।
(राजकुमार पराजुली/रासस)

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु