गृहपृष्ठ पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
दाङ । तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण, पश्चिमतर्फ कलकल बगिरहेको बबई नदी र नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा। प्रकृतिले आफ्नै हातले कोरेजस्तो लाग्ने यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाको हो।
केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। सडक तथा अन्य आधारभूत पूर्वाधार विस्तार भएसँगै वर्षायाममा पनि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
वैशाख–जेठको तुलनामा वर्षायाममा पर्यटकको चहलपहल केही घटे पनि झरना अवलोकन गर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्। झरनाको छेउमा पुगेपछि अधिकांश आगन्तुक केहीबेर प्रकृतिमा रमाउँछन्, तस्बिर र सेल्फी खिच्छन् तथा झरनाबाट खसेको पानीले बनाएको प्राकृतिक पोखरीको मनोरम दृश्य आफ्ना क्यामेरामा कैद गर्छन्। गर्मीयाममा भने यही पोखरी पौडी खेल्नेहरूको रोजाइमा पर्ने गरेको छ।
झरनाको व्यवस्थापनमा कार्यरत कर्मचारी कुलबहादुर बुढाका अनुसार अहिले दैनिक करिब ३०० जनासम्म पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन्। सार्वजनिक बिदाका दिन यो सङ्ख्या अझ बढ्ने गरेको छ।
“दाङका विभिन्न स्थानसँगै बाँके, सल्यान, रोल्पा, सुर्खेतलगायत जिल्लाबाट र भारतबाटसमेत पर्यटक आउने गरेका छन्,” उनले भने। उनका अनुसार प्रवेश शुल्क नलिए पनि पार्किङ शुल्कबाट सङ्कलित रकम कर्मचारीको पारिश्रमिक, झरनाको संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ।
पुरन्धरा झरनाको अर्को विशेषता यसको प्राकृतिक बनोट हो। झरनाबाट खसेको पानी तल प्राकृतिक पोखरीजस्तो भागमा जम्मा हुन्छ र विस्तारै बबई नदीमा मिसिन्छ। झरनाको वरिपरि फैलिएको बाक्लो वन, चराचुरुङ्गीको चिरबिराहट र नदीको मधुर आवाजले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर प्रकृतिसँगै हराउन बाध्य बनाउँछ।
तुलसीपुरबाट साथीहरूसँग झरना अवलोकन गर्न पुगेका ज्येष्ठ नागरिक तथा योग प्रशिक्षक घनश्याम अधिकारीले यहाँ पर्यटन विकासको अझ धेरै सम्भावना रहेको बताए।
“बाटो राम्रो बनेपछि पहिलोपटक यहाँ आएँ। निकै राम्रो लागेको छ,” उनले भने, “बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनजस्ता गतिविधि थप्न सके यो पश्चिम नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ।”
ज्येष्ठ नागरिक इन्द्रलाल खत्रीले झरनामा आउने पर्यटकका लागि चमेना गृह, शौचालय, विश्रामस्थल तथा अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके स्थानीयको आयआर्जनसमेत बढ्ने बताए।
“यो प्राकृतिक सम्पदाको सही उपयोग गर्न सके यहाँको आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउन सक्छ,” उनले भने।
पुरन्धरा झरनाले प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक पृष्ठभूमि पनि बोकेको छ। स्थानीयका अनुसार शताब्दीअघि यो क्षेत्र घना जङ्गलले ढाकिएको थियो। घाँसदाउरा गर्न तथा गाईबस्तु चराउन जङ्गल जाने स्थानीयले आवतजावतका क्रममा यस झरनाको पहिचान गरेका थिए। अहिले पनि झरनाबाट करिब १०० मिटरको दूरीमा रहेको सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ।
बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीका अनुसार पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना कार्यान्वयन भइरहेको छ। गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सङ्घीय सरकारको सहयोगमा सडक, सिँढी र अन्य पूर्वाधार निर्माण गरिएकाले अहिले वर्षभरि नै झरनामा सहज रूपमा पुग्न सकिने अवस्था बनेको छ।
“पहिले वर्षायाममा यहाँ आउन निकै कठिन थियो,” उनले भने, “अहिले पक्की सडक र अन्य संरचना बनेपछि जुनसुकै मौसममा पनि पर्यटक आउन सक्ने अवस्था बनेको छ।”
तुलसीपुर–हापुरे–सुर्खेत सडकखण्डअन्तर्गत टवाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको पुरन्धरा झरना अहिले दाङ पुग्ने धेरै पर्यटकको अनिवार्य गन्तव्य बन्दै गएको छ। प्रकृतिको अनुपम सौन्दर्य, बढ्दो पूर्वाधार र स्थानीयको सक्रियताले पश्चिम नेपालको पर्यटन नक्सामा यसको पहिचान अझ बलियो बन्दै गएको देखिन्छ।
प्रकाशित समय : १६:३९ बजे


















