गृहपृष्ठ आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित
आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित
आज विश्व दम दिवस ‘दम भएका सबैलाई एन्टी–इन्फलामेटरी इनहलेरमा पहुँच– अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।
दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा अनुज भट्टचनले सार्वजनिक गर्नुभएको तथ्याङ्कअनुसार नेपालमा करिब छदेखि आठ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ ।
उनका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ । दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।
दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीले पर्याप्त उपचार नपाउने गरेको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा दम उपचारका आधारभूत सामग्री, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त एन्टी–इन्फलामेटरी इनहेलरको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्रोजस्तो मध्यम आय भएका देशमा हुने गरेको पाइएको छ ।
“इनहेलरको सट्टा मुखमार्फत वा सुइमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैँ प्रभावकारी हुँदैन । त्यसैले उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ”, उनले भने ।
प्रकाशित समय : १२:०५ बजे




















