बक्सर खेलाडी सम्मानित
वि.सं.२०८२ माघ २१ बुधवार २१:३१
shares
एक्स मकाउ बक्सिङ ग्रुपले आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्यपदक जितेका चन्द्रबहादुर थापालाई आज नगदसहित सम्मान गरेको छ ।
सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए ।
डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कास्यपदक जितेका थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन् । उनले तीन राष्ट्रका खेलाडीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।
चन्द्रले ३० हजार र लालबहादुरले २० हजार नगद पुरस्कार पाए । पुरस्कार राशिका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले बताए।
सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबीच सम्मान प्रदान गरे ।

























