काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक महिनामै करिब दुई खर्ब रेमिटेन्स भित्रियो, महँगी घट्दो क्रममा

2.12K
shares

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा भित्रिने रेमिटेन्सले नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पुस महिनामा मात्र करिब दुई खर्ब रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार पुसमा एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स आएको छ। अघिल्लो वर्षको यही महिनामा यस्तो रकम एक खर्ब २२ अर्ब रुपैयाँ मात्र थियो। यसरी हेर्दा एक वर्षको अवधिमा पुस महिनाको रेमिटेन्स झन्डै ७० अर्ब रुपैयाँले बढेको देखिन्छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा देशमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढी हो। यो अवधिमा दुई लाख ६ हजार ८०७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने एक लाख ९४ हजार ७३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

आन्तरिक आर्थिक सूचकहरू अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य क्षेत्र भने मजबुत बन्दै गएको राष्ट्र बैंकको तथ्यांकले संकेत गर्छ। पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो, जसअनुसार ६ महिनामा सञ्चिति २१.१ प्रतिशतले बढेको छ।

डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति असार मसान्तको १९ अर्ब ५० करोडबाट बढेर पुस मसान्तमा २२ अर्ब ४७ करोड पुगेको छ। हालको सञ्चितिले २१.४ महिनासम्मको वस्तु आयात र १८.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा थियो। यसैगरी पुससम्म आठ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।

शोधनान्तर स्थिति पनि सुधार हुँदै पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँले बचतमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति उल्लेखनीय रूपमा घटेको छ। पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ, जबकि अघिल्लो वर्षको यही महिनामा यो ५.४१ प्रतिशत थियो। ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक देखिएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ। फलफूल, घ्यु–तेल र गैरमदिराजन्य पेय पदार्थको मूल्य बढेको छ भने दाल, गेडागुडी, मरमसला र केही खाद्य वस्तुको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।

क्षेत्रगत रूपमा काठमाडौं उपत्यकामा २.४८ प्रतिशत, तराईमा २.६५ प्रतिशत, पहाडमा १.९४ प्रतिशत र हिमाली क्षेत्रमा २.६६ प्रतिशत मुद्रास्फीति रहेको छ।