गृहपृष्ठ जनवरीमा पर्यटक आगमनमा दोहोरो अंकको वृद्धि
जनवरीमा पर्यटक आगमनमा दोहोरो अंकको वृद्धि
xr:d:DAFbNrVh7Qs:68,j:44896564122,t:23041005
काठमाडौं । सन् २०२६ को जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सो महिनामा हवाइमार्ग हुँदै ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो।
कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए। त्यससँग तुलना गर्दा पनि सन् २०२६ को जनवरीको आगमन करिब १४ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ। सन् २०२५ को जनवरीमा भने ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए।
राजनीतिक अस्थिरता र जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारका बाबजुद पनि पर्यटक आगमनमा देखिएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा नेपालको आकर्षण पुनः बढ्दै गएको संकेतका रूपमा लिइएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो रुचि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिका प्रमुख कारण हुन्। यी सूचकहरूले नेपाललाई विश्व पर्यटन नक्सामा ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्न मद्दत गरिरहेको उनले बताए।
भारत शीर्ष स्रोत मुलुक
जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन्। भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो। यद्यपि स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको यकिन तथ्यांक भने हालसम्म उपलब्ध छैन।
पर्यटन बोर्डले सन् २०१८ मा गरेको अध्ययनअनुसार करिब १३ लाख भारतीय पर्यटक स्थलमार्गबाट नेपाल आएको अनुमान गरिएको छ। यसमा बस र निजी सवारीमार्फत आएर कम्तीमा एक रात नेपाल बसेका पर्यटक मात्र समेटिएको बोर्डले जनाएको छ। मोटरसाइकल, साइकल तथा अन्य माध्यमबाट आएका पर्यटकको तथ्यांक भने समावेश गरिएको छैन।
यस वर्ष स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक व्यवस्थित रूपमा संकलन गर्न भन्सार तथा सीमासम्बन्धी निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।
अन्य प्रमुख स्रोत देश
भारतपछि चीनबाट (हजार १०१ ९९.८ प्रतिशत), अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार (५७ ९५.४ प्रतिशत) पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक आगमन भएको छ। त्यसपछि अन्य एसियाली देश २६.१ प्रतिशत, युरोप १२.३ प्रतिशत, अमेरिका १०.८ प्रतिशत र ओसियानिया ५.७ प्रतिशत छन्। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्।
‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा
पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थान चरणमा रहँदा नेपाल पर्यटन बोर्डले ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ। बोर्डको २७औँ स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको यस योजनाले आसियान मुलुकलाई उच्च सम्भावनायुक्त बजारका रूपमा केन्द्रमा राखेको छ।
बोर्डका अनुसार सन् २०२५ मा एक लाख ७ हजारभन्दा बढी पर्यटक आसियान मुलुकबाट नेपाल आएका थिए। बौद्ध तथा आध्यात्मिक पर्यटन, साहसिक र प्रकृतिमुखी यात्रा, वेलनेस तथा आयुर्वेद, सांस्कृतिक र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको उपस्थितिलाई अझ सशक्त बनाइने बोर्डले जनाएको छ।
यसका साथै बोर्डले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शान्तिमुखी यात्रा, डिजिटल प्रविधिको प्रयोग, व्यक्तिगत अनुभवमा जोड, अफ–ग्रिड गन्तव्य, सडक यात्राप्रतिको आकर्षण र संस्कृतिप्रधान पर्यटनलाई प्राथमिकतामा राखिएको छ।
२०२६–२०३५ को दीर्घकालीन रणनीतिअन्तर्गत उच्च मूल्य पर्यटन, डिजिटल प्रवर्द्धन, नवप्रवर्तनशील अभ्यास र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाइने बोर्डको भनाइ छ।
प्रकाशित समय : १३:४९ बजे


















