गृहपृष्ठ पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिन सरकारको ध्यानाकर्षण
पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिन सरकारको ध्यानाकर्षण
गण्डकी । होटल सङ्घ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई आज पोखरामा पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाइएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
चालु बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोहीअनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमार्फत स्मरण गराइएको उनले जानकारी दिए।
ध्यानाकर्षण पत्रमा हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न सहरमा उडान सञ्चालन गराउन आवश्यक पहल अगाडि बढाउन, छिमेकी देशका सीमावर्ती सहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबीच आन्तरिक हवाई सञ्जाल विस्तार गर्न माग गरिएको छ।
यसैगरी विसं २०७२ भन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूले गर्नुपर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै यसलाई खारेज गर्न माग गरिएको छ।
जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यलाई तोकिएको समयसम्म पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आवश्कतासमेत सङ्घले स्मरण गराएको छ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढेको र छिट्टै कार्यान्वयन हुने आश्वासन दिए। पोखराबाट अन्तरराष्ट्रिय उडान गर्ने विषयमा पनि सरकार लागिपरेको उनले बताए।
प्रकाशित समय : २१:३२ बजे




















