global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ च्याउखेतीमा किसानको आकर्षण बढ्दो

च्याउखेतीमा किसानको आकर्षण बढ्दो

च्याउखेतीमा किसानको आकर्षण बढ्दो

‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृषक चित्रराज तिमिल्सिनाले च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी गर्छन ।

तिमिल्सिनाले देशभित्रै च्याउखेतीबाट खर्च कटाएर मासिक एक लाख आम्दानी गरी ‘देशमा केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने युवा पुस्ताका लागि ‘जाँगर भए देशभित्रै गर्न सकिन्छ’ भन्ने उदाहरण दिएका छन ।

आफ्नै लगानीमा करिब १५ रोपनी जग्गामा च्याउ खेती गर्दै आएका उनले चार वटा फार्ममा कन्ये, गोब्रे र सिताके लगायतका च्याउ खेती गर्दै आएका छन । उनले अध्ययन गर्दै गरेका आफ्ना छोरा-छोरीलाई पनि च्याउखेतीमै संलग्न गराएका छन । उनले भने, “अमेरिका र युरोपका विभिन्न देशमा गएका युवाभन्दा हामी सक्षम छौँ, उनीहरु देश फर्किएर के गर्ने होला ? भनेर काम खोज्छन, हामीसँग त्यो समस्या छैन ।”

च्याउ उत्पादक किसान सङ्घ, नेपालका अनुसार हाल च्याउखेतीबाट करिब २० अर्ब बराबरको आम्दानी हुने गरेको छ । गोधे च्याउ, कन्ये च्याउ र राजा च्याउ नेपालका लागि आवश्यक उत्पादन नेपाली किसानबाट हुने भएकाले च्याउमा नेपाल आत्मनिर्भर भएको किसानहरुको भनाइ छ । यस क्षेत्रमा ३० हजार नेपालीले रोजगारी पाएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी आनन्द जोशीले च्याउ खेतीको विकास र प्रवर्द्धन गर्ने विषयमा रणनीति वा कार्ययोजना बनाउने विषयमा छलफल भए पनि राष्ट्रिय च्याउ नीति नै बनाउनेबारे भने छलफल नभएको बताए । नेपालमा म्याजिक मसरुम भनिने जङ्गली च्याउदेखि सजिलै घरमा उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । प्रतिकिलो भारु ५८ हजारमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । नेपालमा च्याउखेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ ।

कृषि विभागअन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी पूर्णिमा क्षेत्रीले केन्द्रले च्याउसम्बन्धी प्रयोगशाला र च्याउमा हुनुपर्ने न्यूनतम मापदण्ड तयार गर्ने काम भइरहेको जानकारी दिए । केन्द्रले खानयोग्य जङ्गली च्याउबारे पनि अध्ययन सुरु गरेको जनाएको छ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु