global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ जिल्लामै स्वास्थ्य सेवा उपलब्ध भएपछि रसुवावासी दङ्ग

जिल्लामै स्वास्थ्य सेवा उपलब्ध भएपछि रसुवावासी दङ्ग

जिल्लामै स्वास्थ्य सेवा उपलब्ध भएपछि रसुवावासी दङ्ग

विकट पहाडी जिल्ला रसुवामा विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण र औषधिको व्यवस्था भएसँगै जिल्लावासी खुसी छन् । अशिक्षा र अन्धविश्वासका कारण धामी–झाँक्री प्रथालाई विश्वास गरी स्वास्थ्य उपचारका अभावमा परिवारका सदस्य गुमाइरहेका रसुवावासी अहिले अस्पतालमा लामबद्ध देखिन्छन् ।

जिल्लास्थित स्वास्थ्यकर्मीका अनुसार विभिन्न अस्पताल, स्थानीय सरकार, विद्यालय, राजनीतिक पार्टी, नागरिक समाज र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको पहलमा अस्पताल जाने क्रम वृद्धि भएको हो ।

यसै सन्दर्भमा जिल्ला अस्पताल रसुवाले गत साउनदेखि कात्तिक महिनासम्म दुई हजार ९३५ जनाको स्वास्थ्य उपचार गरेको छ । सोही अवधिमा ५७ जना ज्येष्ठ नागरिकलाई सेवा दिएको सो अस्पतालले ३७६ जनाको दन्तजन्य रोगको उपचार गरेको र जटिल प्रकृतिका ८० जना बिरामीलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ ‘रेफर’ गरेको जनाएको छ ।

सामान्यदेखि निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको सो अस्पतालले ४५९ जनाको एक्स–रे, २८१ को अल्ट्रासाउन्ड भिडियो एक्स–रे र २०० जनाको इसिजी सेवा प्रदान गरेको सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए ।

गत आर्थिक वर्षमा सो अस्पतालले ११ हजार ७१६ जनालाई उपचार सेवा प्रदान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट टङ्ककुमारी भट्टराईले जानकारी दिए ।

यसैगरी ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाको सहयोगमा रसुवामै सञ्चालित अस्पतालले शल्यक्रियासहित जटिल प्रकृतिका रोगको उपचार गर्न थालेपछि जिल्लावासी खुसी भएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।

अध्यक्ष तामाङका अनुसार विशेषज्ञ चिकित्सको अभावमा काठमाडौँ जान बाध्य रसुवावासीलाई पछिल्ला दिनमा जिल्लामै विभिन्न अस्पतालसहित चिकित्सक, औषधि र स्वास्थ्य उपकरणको व्यवस्था भएपछि राहत मिलेको छ ।

विदेशीको सहयोगमा सञ्चालित सो अस्पतालले गत वर्ष ३९ महिलाको सफल शल्यक्रिया गरी सुत्केरी स्याहार संरक्षणमा सहयोग पु-याएको, आठ जनाको हर्निया र १८ जनाको एपेन्डिससँग सम्बन्धित उपचार गरेको तथा उल्लेख्य सङ्ख्याका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेको जनाएको छ ।

उच्च हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन अस्पताल एवम् नागरिक समाजका तर्फबाट अनुरोध गरिएको छ । रासस

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु