गृहपृष्ठ नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ ।
निगमले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्ने जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण बुझ्न आह्वान गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा निगमको महाप्रबन्धक नियुक्तिका लागि छनोट समिति गठन गरेकी थिइन् ।
उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्यका रूपमा र मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्यसचिवका रूपमा रहने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : १२:४२ बजे



















