गृहपृष्ठ अमेरिकामा हवाई संकट गहिरिँदै
अमेरिकामा हवाई संकट गहिरिँदै
अमेरिकामा सरकार बन्दको संकट लम्बिँदै गएपछि देशका प्रमुख विमानस्थलहरूमा हवाई सेवा ठप्प हुने अवस्था देखिएको छ। संघीय विमान प्रशासनले चेतावनी दिएको छ कि यदि संघीय बजेट सम्झौता निकट भविष्यमा सम्पन्न नभए, देशभरका ४० भन्दा बढी प्रमुख विमानस्थलहरूमा उडान क्षमतामा १० प्रतिशतसम्म कटौती गर्नुपर्ने बाध्यता आउन सक्छ।
अमेरिकाको प्रशासनिक संयन्त्रमा सरकार बन्द हुनुका कारण हजारौँ संघीय कर्मचारीहरू तलब विना काम गर्न विवश छन्, जसमा एयर ट्राफिक कन्ट्रोलर, सुरक्षा अधिकारी र प्राविधिक कर्मचारी पनि पर्छन्। यी महत्वपूर्ण निकायमा जनशक्ति अभाव बढ्दै जाँदा, उडान सुरक्षामा समेत असर पर्ने सम्भावना बढेको फाको भनाइ छ।
यस नीतिको प्रभाव न्युयोर्क, लस एन्जलस, सिकागो, डल्लास, मियामी, एटलान्टा र वासिङ्टन डी.सी. लगायतका ठूला विमानस्थलहरूमा पर्नेछ। अमेरिकाभित्रका घरेलु उडान मात्र होइन, अन्तर्राष्ट्रिय उडान तालिकामा समेत ढिलाइ र रद्द हुने क्रम बढ्ने अनुमान गरिएको छ।
अर्थतन्त्रका विज्ञहरूका अनुसार, हवाई क्षेत्रमा यस्तो कटौतीले अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति पुर्याउन सक्छ। एयरलाइन्स उद्योग, पर्यटन, र व्यापारिक ढुवानीमा अरबौँ डलर बराबरको असर पर्न सक्ने चेतावनी दिइएको छ।
प्रकाशित समय : ११:२८ बजे



















