गृहपृष्ठ प्रभु बैंकको नाफामा ४६ प्रतिशतभन्दा बढीको गिरावट
प्रभु बैंकको नाफामा ४६ प्रतिशतभन्दा बढीको गिरावट
प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ८४ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा एक अर्ब चार करोड ६ लाख रुपियाँ नाफा आर्जन गरेको बैंकले चालू आर्थिक वर्षको सो अवधिमा जम्मा ५५ करोड ८४ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा ४६.३३ प्रतिशतले कम हो ।
बैंकको यो अवधिमा खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपियाँ रहेको छ। पहिलो त्रैमाससम्म बैंकले १.७२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।
चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा एक अर्ब १७ करोड २० लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ४० करोड ३९ लाख रुपियाँ थियो।
चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.४९ रुपियाँ कायम भएको छ।
प्रकाशित समय : १०:०३ बजे


















