गृहपृष्ठ राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गर्दैछन् । सोमबार कतार पुगेका पौडेलले दोहामा आयोजित सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
मंगलबारदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार कतार पुगेका हुन् ।
संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।
सम्मेलनलाई सम्बोधन गरेपछि राष्ट्रपति पौडेलले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिको भेटवार्ता गर्नेछन् ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक कतारले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ। सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ।
प्रकाशित समय : ११:२३ बजे




















