global ime bank Long Banner Ad

गृहपृष्ठ गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको कामपाले जनाएको छ ।

सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोतव्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा एक सय ९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो ।

स्रोतव्यक्ति भुसालले भने, “डेङ्गुको सङ्क्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।” कामपामा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको उनले उल्लेख गरे । सामान्यतया बर्खायाममा देखिने यो सङ्क्रमणको वृद्धिदर भदौ, असोज र कात्तिकसम्म रहने कामपाले जनाएको छ । यी तीनै महिनालाई तुलना गर्दा यस वर्ष सङ्क्रमणदरमा कमी आएको उनले जानकारी दिए ।

“डेङ्गु सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टे जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नु हुँदैन । पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायत जम्ने पानीमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन”, उनले भने ।

नेपालमा २०६१ सालदेखि डेङ्गु देखिन थालेको हो । कामपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । सन् २०२३ मा छ सय ४३, सन् २०२४ मा दुई हजार ८४ जनामा सङ्क्रमण देखिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाले जनाएको छ । गत पुसदेखि अहिलेसम्म दुई सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु