गृहपृष्ठ मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा
मोदी ‘बुद्धिमान नेता’ : पुटिनको प्रशंसा
रासस
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ९स्थानीय समयअनुसार० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको उच्च प्रशंसा गर्दै उहाँलाई ‘बुद्धिमान नेता’ भएको उल्लेख गर्नुभएको छ ।
उनले प्रधानमन्त्री मोदी सधैँ आफ्नो देशको हितलाई पहिलो प्राथमिकता दिने नेता भएको भन्दै भारत–रुस सम्बन्धलाई अझ मजबुत र विशेष बताए ।
राष्ट्रपति पुटिन सोचीस्थित वाल्डाई डिस्कसन क्लबको पूर्ण सत्रमा सम्बोधन गर्दै थिए । आफ्नो सम्बोधनमा भारत र रुसबीच विगतदेखि नै विशेष सम्बन्ध रहेको उल्लेख गर्दै करिब १५ वर्षअघि दुवै देशले ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को घोषणा गरेको स्मरण गरे । यो परिभाषा आज पनि दुवै देशबीचको सम्बन्धलाई सबैभन्दा उचित रूपमा अभिव्यक्त गर्ने शब्द हो ।
“भारतका जनताले यो सम्बन्धलाई बिर्सने छैनन् भन्ने विश्वास म राख्छु । करिब १५ वर्षअघि हामीले विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको घोषणा गरेका थियौँ र त्यो नै अझैसम्मको सबैभन्दा राम्रो परिभाषा हो । प्रधानमन्त्री मोदी एक अत्यन्त बुद्धिमान नेता हुनुहुन्छ, जसले पहिले आफ्नो देशका बारेमा सोच्नुहुन्छ”, पुटिनले भने ।
यसै वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमण हुने सम्भावना सम्बन्धी रिपोर्टहरू सार्वजनिक भएकाले उहाँको यो टिप्पणीले विशेष महत्व राख्दछ । आगामी शिखर बैठकको तयारी तथा अन्य द्विपक्षीय मुद्दाहरूमा छलफल गर्न राष्ट्रपति पुटिनको भ्रमणअघि रुसी विदेशमन्त्री सेर्गेई लाचरोभ पनि भारत आउने अपेक्षा गरिएको छ ।
गत सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र महासभा ९युएनजिए० को ८०औँ सत्रमा लाभरोभले आवश्यक कूटनीतिक तयारी भइरहेको उल्लेख गर्दै डिसेम्बरमा राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमण हुने योजना रहेको औपचारिक घोषणा गरेको थियो ।
सोही अवसरमा वाल्डाई डिस्कसन क्लबमा भारतीय आयातसम्बन्धी अमेरिकी भन्सार शुल्कको मुद्दा उठाउँदै राष्ट्रपति पुटिनले भारतले यदि रूसी तेल खरिद नगरेमा करिब नौदेखि १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भोग्नुपर्ने प्रष्ट पार्नुभयो । उनले प्रधानमन्त्री मोदी कुनै पनि विदेशी दबाबको अगाडि झुक्ने नेताभन्दा टाढा रहेको र भारतले आफ्नो गरिमा तथा रणनीतिक स्वायत्ततालाई निरन्तर प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।
पुटिनले थप स्पष्ट पार्दै भने, “यो कुनै राजनीतिक मुद्दा होइन, यो केवल आर्थिक गणना हो । के भारतले हाम्रा ऊर्जा स्रोत त्याग्नेछ रु यदि त्यस्तो भयो भने निश्चित रूपमा ठूलो हानि हुनेछ । अनुमान फरक–फरक भए पनि कतिपयले यसलाई करिब ९–१० अर्ब अमेरिकी डलर बराबर हुने बताएका छन् । तर यदि भारतले त्यागेन भने पनि उसलाई प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन्छ, जसको असर उस्तै हुन्छ । जब आन्तरिक राजनीतिक मूल्य पनि भोग्नुपर्ने हुन्छ भने त्यस्तो अस्वीकार गर्नुको अर्थ हुँदैन । भारतीय जनताले कहिल्यै कसैको दबाबमा आफूलाई अपमानित हुन दिँदैनन् । म प्रधानमन्त्री मोदीलाई राम्रोसँग चिन्छु, उहाँले पनि त्यस्तो निर्णय लिनुहुन्न भन्नेमा मलाई विश्वास छ ।”
राष्ट्रपति पुटिनको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र महासभामा दिएको सम्बोधनपश्चात आएको हो । ट्रम्पले करिब दुई हप्ताअघि चीन र भारतलाई युक्रेन युद्धका ‘प्राथमिक कोषदाता’ भएको आरोप लगाएको थियो ।
ट्रम्पले भनेको थियो, “रूसी तेल खरिदलाई निरन्तरता दिँदै चीन र भारतजस्ता देशहरूले जारी युद्धलाई प्रत्यक्ष रूपमा सहयोग गरेका छन् । यसरी उनीहरू युद्धका प्राथमिक कोषदाता बनेका छन् ।”
प्रकाशित समय : १५:३५ बजे


















