काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमाले महाधिवेशनः समूहगत प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न

2.14K
shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ । लतिलपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आज तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो ।

आज १० विभिन्न समूहगत नेताहरूको प्रस्तुति सकिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमत जनाएको उनले जानकारी दिए ।

छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका प्रचार विभाग प्रमुख गौतमले उल्लेख गरे । उनका अनुसार सुदूरपश्चिम प्रदेशबाट कृष्णप्रसाद जैसीले महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनपूर्ण सहमति जनाएका छन । “अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ”, जैसीले भने ।

कर्णाली प्रदेशका अध्यक्ष एवं समूहगतका नेता गुलाबजङ्ग शाहले वर्तमान अवस्थामा नेतृत्वलाई थप स्थापित र सशक्त बनाउनुपर्ने समय आएकाले पार्टीको भावी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नरहेको बताए ।

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका उपाध्यक्ष एवं समूहगत नेता मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पु-याउन प्रतिवेदनहरूले प्रष्ट मार्ग निर्देश गरेको बताए।

बागमती प्रदेशका अध्यक्ष एवं समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताउँदै केही मत भने उक्त व्यवस्था हटाउनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए ।

मधेस प्रदेशका अध्यक्ष एवं समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष ओलीलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । “पार्टीमाथि देशी-विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट अध्यक्ष ओलीलाई नै पुनःनेतृत्व दिनुपर्छ”, उनले भने ।

‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको एमाले प्रचार विभागले जनाएको छ ।