गृहपृष्ठ टर्कीएको वार्षिक मुद्रास्फीति दर घट्दै
टर्कीएको वार्षिक मुद्रास्फीति दर घट्दै
टर्कीएको वार्षिक मुद्रास्फीति दर लगातार १५ महिनासम्म घट्ने क्रममा अगस्ट महिनामा झरेर ३२.९५ प्रतिशतमा पुगेको छ । टर्कीएको राष्ट्रिय तथ्याङ्क संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यो गिरावट देशको मूल्य स्थायित्वतर्फको प्रगतिलाई सङ्केत गर्छ ।
मासिक रूपमा उपभोक्ता मूल्यहरूमा २.०४ प्रतिशत वृद्धि भएको छ भने उत्पादक मूल्यहरूमा २.४८ प्रतिशतले वृद्धि देखिएको छ ।
कृषि आपूर्तिमा बाधा, खाद्य वस्तुमा मूल्यवृद्धि
टर्कीएका उपराष्ट्रपति जेभ्देत यिलमाजले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अगस्ट महिनाको अपेक्षाभन्दा केही बढी मुद्रास्फीति दर कृषि क्षेत्रमा देखिएको समस्याका कारण भएको स्पष्ट गरे ।
उनले चिसो मौसम र खडेरीका कारण खाद्य उत्पादन घट्दा खाद्यान्नको मूल्य उल्लेखनीय रूपमा बढेको बताउँदै भने, “खाद्यान्न मूल्यको वृद्धिले मासिक मुद्रास्फीति दरमा लगभग एक तिहाइ योगदान दिएको छ ।”
यिलमाजले केन्द्रिय बैङ्कको पूर्वानुमान अनुसार चालु वर्षको अन्त्यसम्म मुद्रास्फीति २५ देखि २९ प्रतिशतको दायरा भित्र रहने अपेक्षा गरिएको पनि जानकारी दिए।
मूल वस्तु र सेवा क्षेत्रका दरमा सुधार
अर्थमन्त्री मेहमेत सिमसेकले अगस्टको मुद्रास्फीति सन् २०२२ को मे महिनाको उच्च बिन्दुभन्दा ४२ प्रतिशत अङ्कले कम रहेको उल्लेख गर्दै सेवा तथा मूल वस्तु मूल्यमा उल्लेखनीय सुधार भएको बताए ।
उनका अनुसार,“मूल वस्तुको मुद्रास्फीति १९.८ प्रतिशतमा सीमित रहँदा, सेवा क्षेत्रमा मुद्रास्फीति ४५.८ प्रतिशतमा झरेको छ, जुन पछिल्ला तीन वर्षको सबैभन्दा न्यून स्तर हो ।”
सिमसेकले ‘स्थायी मूल्य स्थायित्व नै दीगो आर्थिक वृद्धि र सामाजिक समृद्धिको आधार हो’ भन्दै आर्थिक अनुशासन र संरचनात्मक सुधारहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहो-याए ।
ब्याज दर हेरफेरपछि आर्थिक नीति पुनः लचक हुँदै
टर्कीएले विगत केही वर्षदेखि अत्यधिक मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत ब्याज दरहरूमा व्यापक हेरफेर गर्दै आएको छ । सन् २०२३ को मध्यदेखि २०२४ को मार्चसम्म ब्याज दर ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशतसम्म पु-याइएको थियो ।
पछि मुद्रास्फीति कम हुँदै जाँदा केन्द्रिय बैंकले ब्याज दर कटौती गर्दै मार्च २०२५ मा ४२.५ प्रतिशतमा झारेको थियो । तर, इस्तानबुलका मेयर एकरेम इमामोग्लुको पक्राउसँगै उत्पन्न भएको बजार अस्थिरताका कारण मार्चमा दर पुनः ४६ प्रतिशतसम्म बढाइएको थियो ।
अब स्थिति सामान्यतर्फ जाँदै गर्दा अगस्त महिनामा दर पुनः घटाएर ४३ प्रतिशतमा ल्याइएको छ । यससँगै टर्कीएको अर्थतन्त्र सुधारको चरणमा प्रवेश गर्दैछ ।
प्रकाशित समय : २१:०७ बजे


















