गृहपृष्ठ वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने
वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने
यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेडाएर लोप हुन लागेको परम्परालाई निरन्तरता दिने भएको छ ।
भाद्र शुक्ल पूर्णिमाको साँझ अर्थात आगामी भदौ २२ गते इन्द्रजात्राको भोलिपल्ट साँझ जिब्रो छेडेर महाद्विप बोकेर पशुपतिनाथसम्म पुगेर जात्राको संरक्षणमा योगदान दिँदै आएका उनले यसवर्ष पनि जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने बताए ।
केही वर्ष सञ्चालन हुँदै र रोकिँदै आएको जिब्रो छेड्ने जात्रा २०६३ सालदेखि रोकिएर ११ वर्षपछि २०७४ सालमा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता २०७९ र २०८१ सालमा जिब्रो छेड्नु भएको थियो । यवर्ष पनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको हो ।
विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकोमा २०७९ मा वीरेद्रभक्तले पुनःजात्रालाई निरन्तरता दिएको थियो । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाउनु भएको थियो ।
जात्रामा पाँच लाख बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेकोभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्तिले खर्च गर्नुपर्ने जात्रा संरक्षण समिति संयोजक अर्जुन श्रेष्ठ बताए।
किम्बदन्तीअनुसार प्राचीन कालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रममा गराइएको र त्यसपछि भूत, प्रेत, पिचास भागेर शान्ति स्थापना भएको भनाइ छ ।
भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्म यात्रा गर्दै अन्तिममा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।
प्रकाशित समय : ०६:०४ बजे


















