गृहपृष्ठ कोशी प्रदेशसभामा विधेयक पारित

कोशी प्रदेशसभामा विधेयक पारित

कोशी प्रदेशसभामा विधेयक पारित

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको  मातहत आइसकेको जानकारी दिनुभयो । यी दुवै आयोजना चार लाख ५० हजार लिटर पानी अट्ने क्षमताका हुन् ।

मन्त्री कार्कीले अहिले कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई मात्र खानेपानीको प्रबन्ध रहेको जानकारी दिँदै यो विधेयकले सबै नागरिकलाई खानेपानीको प्रबन्ध मिलाउन सहज हुने बताउनुभयो । संविधानप्रदत अधिकार तथा नागरिकको सम्मानका निम्ति पिछडिएका जाति र समुदायलाई सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था मिलाउन प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु मीना श्रेष्ठ, रमेशकुमार बस्नेत, तिलचन पाठक, खगेश्वरी पौडेल र शोभा चेम्जोङले नागरिकका विविध समस्याबारे आफ्ना जिज्ञासा राखेको थियो । प्रदेशसभाको अर्को बैठक यही साउन २२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु