गृहपृष्ठ गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रतिबद्धता
गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रतिबद्धता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटीले नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताएका छन ।
नेपालका प्रसूति केन्द्रहरूमा मातृ तथा नवजात शिशु हेरचाहको लागि सेवा उपलब्धता र तयारीसम्बन्धी चौधरी फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा ग्रामीण क्षेत्रसम्म विस्तारका लागि थप जनशक्ति, उपकरण र पूर्वाधारको आवश्यक रहेको बताए । उक्त अध्ययनबाट प्राप्त सुझाव आगामी नीति र योजना बनाउँदा उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा विवेकलाल कर्णले स्वास्थ्य क्षेत्रमा पनि सार्वजनिक निजी साझेदारीअन्तर्गत गरिएका यस्ता कार्यले सरकारले हासिल गरेको लक्ष्य पूरा गर्न सहज र प्रभावकारी हुने बताए । चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले आफूहरुले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेको अवगत गरउँदै मातृ तथा नवजात स्वास्थ्यका क्षेत्रमा अध्ययनले औँल्याएका सुझाव कार्यान्वयनका विषयमा आगामी दिनमा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्ययनका नेतृत्वकर्ता डा खेम पोखरेलले अध्ययन विधि, अध्ययनका क्रममा देखिएका विषय र सुधार गर्नुपर्ने विषयका बारेमा जानकारी गराएका थिए । नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०१६ मा प्रतिएक लाख जीवित जन्ममा २३९ रहेको मातृ मृत्युदर सन् २०२२ मा घटेर १५१ पुगेको छ ।
त्यस्तै, सन् २००१ मा प्रतिएक हजारमा ३९ रहेको नवजात शिशु मृत्युदर सन् २०२२ मा घटेर २१ पुगेको सरकारी तथ्याङ्क छ ।
नेपालभर दुई हजार ८४८ प्रसूति केन्द्रहरू छन्भने त्यसमा दुई हजार ८३१ सञ्चालनमा छन् । यी केन्द्रहरूले प्रसूतिपूर्व हेरचाह, सामान्य प्रसूति, प्रसूतिपूर्व हेरचाह, र आधारभूत नवजात शिशु सेवाहरू प्रदान गर्छन् । अध्ययन प्रतिवेदनमा ४५ जिल्लाका २२२ प्रसूति केन्द्रहरू समेटिएको छ ।
प्रकाशित समय : १७:२२ बजे


















