गृहपृष्ठ बहुप्रकोप जोखिम न्यूनीकरणमा सबैका लागि पूर्वसूचना आवश्यक

बहुप्रकोप जोखिम न्यूनीकरणमा सबैका लागि पूर्वसूचना आवश्यक

बहुप्रकोप जोखिम न्यूनीकरणमा सबैका लागि पूर्वसूचना आवश्यक

सरोकारवालाले मौसमजन्य बहुप्रकोपीय जोखिम न्यूनीकरणमा सबैका लागि पूर्वसूचना आवश्यक रहेकामा जोड दिएका छन् ।

आज जल तथा मौसम विज्ञान विभाग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) ले ‘सबैका लागि पूर्वसूचना प्रणाली’ पिलर–२ अन्तर्गत अवलोकन तथा पूर्वानुमानमा केन्द्रित अन्तर विश्लेषण परामर्श कार्यशाला गरेको थियो । सो कार्यशालाको उद्घाटन सत्रका सहभागीले पछिल्लो समय मौसमजन्य विपद् बढिरहेकाले क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली आवश्यक रहेको बताएका हुन् ।

विभागका महानिर्देशक कमलराम जोशीले नेपालजस्तो जटिल भौगोलिक क्षेत्र भएको मुलुकमा जलवायु परिवर्तन र यसका असरले सिर्जित जल तथा मौसमसम्बन्धी बहुप्रकोपको जोखिम बढिरहेको अवस्थामा पूर्वसूचना आवश्यक रहेको बताए । “हामीले प्रत्येक वर्ष जल तथा मौसमजन्य प्रकोपका चुनौतीको सामना गर्नुपरेको छ,” उनले भने, “आगामी दिनमा यस्ता प्रकोपबाट हुनसक्ने मानवीय र आर्थिक क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली आवश्यक छ ।”

विभागकै उपमहानिर्देशक सुमनकुमार रेग्मीले कार्यशालाले समयमै र भरपर्दो सूचना उपलब्ध गराएर पूर्वसूचनालाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने बताए । “पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन अनुगमन तथा पूर्वानुमानको महत्त्व, आवश्यकता, उपलब्ध स्रोत, प्रविधि, पूर्वाधारको अवस्था, संस्थागत क्षमता र सेवा विस्तारलाई आवश्यकताका आधारमा समयानुकूल सुधार गर्न जरुरी भइसकेको छ,” उनले भने, “यस कार्यशालाले आगामी गन्तव्यका लागि एउटा प्रस्ट मार्गचित्र तय गर्न मद्दत गर्नेमा म विश्वस्त छु ।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन कुमार बमले समयमै प्राप्त हुने भरपर्दो पूर्वसूचना प्रणालीले प्राकृतिक विपद्को प्रभाव न्यूनीकरण गर्न मात्र नभइ समुदायको जीवन र जीविकोपार्जनको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

“यही उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको पहलमा सबैका लागि पूर्व चेतावनी अभियान अघि बढाइएको हो, जसले सन् २०२७ सम्म विश्वका सबै नागरिकलाई पूर्वसूचना सेवाबाट सुरक्षित गर्ने लक्ष्य लिएको छ,” उनले भने ।

युएनडिपीका जलवायु परिवर्तन तथा उत्थानशीलता कार्यक्रम विश्लेषक दीपक केसीले ‘सबैका लागि पूर्वसूचना प्रणाली’मा देखिएका ग्याप पत्ता लगाएर आवश्यक कार्यक्रम तय गर्न पिलर–२ ले सहयोग गर्ने बताए।

जलवायुविद् पपुलर जेन्टल भुसालले विपद् व्यवस्थापनका पूर्वतयारी र प्रतिकार्यका लागि पूर्वसूचना प्रणाली आवश्यक रहेको बताए । मौसमविद् शान्ति कँडेलले पूर्वसूचना प्रणालीका कारण पछिल्लो समय बाढीबाट हुने क्षति न्यूनीकरण भइरहेको उल्लेख गर्दै अन्य बहुप्रकोपको पनि पूर्वसूचना प्रणाली आवश्यक रहेको बताए ।

 

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु