गृहपृष्ठ माथिल्लो तामाकोसीको उत्पादन पूर्ण क्षमतामा, भारत विद्युत निर्यात बढ्न सक्ने

माथिल्लो तामाकोसीको उत्पादन पूर्ण क्षमतामा, भारत विद्युत निर्यात बढ्न सक्ने

माथिल्लो तामाकोसीको उत्पादन पूर्ण क्षमतामा, भारत विद्युत निर्यात बढ्न सक्ने

दोलखा क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि विहीबारबाट माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले पूर्ण रूपमा उत्पादन सुचारु गरेको छ । माथिल्लो तामाकोसीको विद्युत उत्पादन बढेसँगै भारत निर्यात समेत बढ्ने भएको छ ।देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र ४५६ मेगावाटको क्षतिग्रस्त दुवै बालुवा थिग्र्याउने पोखरी डिस्याण्डर सञ्चालनमा आएपछि विद्युत उत्पादन पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

१० महिनामा क्षतिग्रस्त दायाँ तर्फको बढी क्षति भएको बालुवा थिग्रयाउने पोखरी पुर्ननिर्माणपछि सञ्चालनमा आएको छ । दुई वटा पोखरी मध्ये दायाँ तर्फको पोखरी ४० प्रतिशत क्षति भएको थियो ।
अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे तापनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी डिस्याण्डर र भुमिगत नहरमा ठूलो क्षति भएको थियो ।
२ वटा डिस्याण्डर मध्ये कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भुमिगत कल्भर्ट पुर्न निर्माण गरेर गत पुसदेखि विद्युत गृह सञ्चालनमा ल्याइएको थियो ।

अहिले दुवै पोखरी दुरूस्त भएपछि पोखरीमा जम्मा भएको बालुवा सफा गर्न सहज भएको छ । अपर तामाकोसी जलविद्युत केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले एउटामात्रै हुँदा बालुवाका कनहरू पनि आउदा विद्युत गृहका उपकरण खिइने समस्या हुने बताए । दायाँ पोखरी तयार भएपछि बायाँ पोखरीको बालुवा सफा गर्ने बताए ।  वर्षात्का कारण माथिल्लो क्षेत्रबाट नदीमा बालुवा बढी आउछ उनले भने अब हामी हरेक हप्ता पालैपालो पोखरी सफा गर्छौं । बाँध क्षेत्रमा बालुवा र गेग्रानले भरिदै गएकाले नदीमा जलस्तर बढेपछि बाँधका ढोका खोलेर सफा गर्ने समेत उनले बताए ।

कम क्षति भएको र हिउँदको विद्युतको माग धान्न आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको थियो । तर बढी क्षति भएको दायाँ पोखरीको सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान गरेर पुनर्निर्माण गरेको हो । पोखरी निर्माणको ठेक्का लिएका च्छोरोल्पा कन्ट्रक्सन प्रालिका प्रबन्धक निर्देशक फुर्लाक्पा शेर्पाले देशको विद्युत आवश्यकतालाई मध्ये नजर गरेर रातदिन काम गरेर निर्धारित समयमा पोखरी पुनर्निर्माण गरेको बताए । ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हो । यस अघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले डिस्याण्डर सहितको सिभिल काम गरेको थियो ।

अहिले पोखरीको पुनर्निर्माण मात्रै पूरा भएको छ, कल्भर्ट पुनर्निर्माण हुन बाँकी छैन ।  उत्पादन केन्द्र प्रमुख रञ्जितले भने नदीमा जलस्तर बढेकाले कल्भर्टको काम नदीमा पानी घटेपछि कार्तिक १५ पछि पुनः सुचारु हुुन्छ, अहिले अस्थायी रूपमा सञ्चालन गरेका हौं । पोखरी र कल्भर्ट पुनर्निर्माणका लागि ११२ दिनमा पूरा गर्ने गरी ठेक्का सम्झौता भए तापनि नदीमा जलस्तर बढेकाले कल्भर्डको बाँकी काम पूरा गर्न १८५ दिन म्याद थप भएको छ । वर्षातको ४ महिना काम गर्न नसकिने भएकोले त्यसलाई समेत जोडेर बढी दिन थप्नु परेको उनले बताए ।

डिस्याण्डरभन्दा माथिबाट खोल्साबाट ठूला ठूला बोल्डर र लेदो आएपछि डिस्याण्डर र कल्भर्डमा क्षति भएको थियो । थप बोल्डरहरू आउन सक्ने ठाउँको समेत सुरक्षाको काम समेत जारी छ ।
पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँ तर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँ तर्फको २० प्रतिशत क्षति भएको थियो ।

विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृह भित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गरेको हो ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु