गृहपृष्ठ माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्ताङमा
माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्ताङमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आएका छन । माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा अध्यक्ष दाहाल, महासचिव देव गुरुङलगायत नेता कार्यकर्ता सडकमार्ग हुँदै मुस्ताङ आएका हुन ।
उनिहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गरेका थिए ।
अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गरेका छन । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गरेको माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिए ।
अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उनले बताए । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताए ।
अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गर्नुभएको शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिए। उनिहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रकाशित समय : १७:०२ बजे