गृहपृष्ठ नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न
नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सम्पन्न गरेको छ।
तालिमले अटोमोबाइल वर्कशपहरुमा सुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो।
विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापनलगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो।
नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओ.यस.यच. विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए। नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो।
इन्स्योरसँगको सहकार्यमा नाडाले दुई वर्ष अघिदेखि अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको हो।
तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए।
प्रकाशित समय : १९:५१ बजे