गृहपृष्ठ बाल पोषणभत्ता बढाएर १ हजार बनाउन सरोकारवालाहरुको माग
बाल पोषणभत्ता बढाएर १ हजार बनाउन सरोकारवालाहरुको माग

बाल पोषणभत्ता बढाउन सरोकारवालाहरूले माग गरेका छन् । अहिले दिइरहेको ५३२ रुपैयाँ रकम बढाएर मासिक १ हजार रुपैयाँ बनाउनुपर्ने सरोकारवालाहरूको माग रहेको छ ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले सेभ द चिल्ड्रेन र युनिसेफको सहयोग तथा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम र उही सोसल मुभमेन्टको सहकार्यमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको महत्त्व र बाल पोषणभत्ता विस्तारको आवश्यकता सम्बन्धी नीतिगत बहस विषयक कार्यक्रममा बोल्ने सरोकारवालाहरूले त्यस्तो बताएका हुन् ।
त्यस अवसरमा बोल्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सामाजिक सुरक्षा शाखाका निर्देशक सानुबाबु अधिकारीले हाल १० लाख ९२ हजार बालबालिकाहरू बाल पोषणभत्ताका लाभग्राहीहरू रहेको बताउँदै २५ जिल्लामा प्रत्येक महिना ५३२ रुपैयाँ वितरण गर्दै आएको बताए । एक आमाका दुई बालबालिकालाई बाल पोषणभत्ता प्रदान गरिने गरेको भन्दै उनले सरकारले हरेक वर्ष ७ अर्ब बाल पोषणभत्ताका रूपमा वितरण गर्दै आएको जानकारी दिए ।
विभिन्न क्याटोगोरीमा ३७ लाख ६३ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिँदै आएको भन्दै जम्मा बजेटको ६ प्रतिशत सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको उनले बताए । सामाजिक सुरक्षा कार्यक्रम राज्यले प्रदान गर्ने आर्थिक सामाजिक सुरक्षा भएको भन्दै उनले यसमा सबैलाई समान व्यवहार हुनुपर्ने आवाज उठ्दै आएको बताए।
यसैगरी राष्ट्रिय योजना आयोगका प्रकाश कुमार श्रेष्ठले ८७ शीर्षकमा राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको बताउँदै सामाजिक सुरक्षालाई समय क्रमअनुसार बलियो बनाउँदै लैजानुपर्ने बताए । सामाजिक सुरक्षा कार्यक्रम विशेषगरी विपन्नलाई सहयोग गर्नेगरी केन्द्रीकृत हुनुपर्ने भन्दै उनले बालबालिकामा लगानी गर्नका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए । बालबालिकामा लगानी गर्यौँ भने मानव पुँजी निर्माण हुन्छ । त्यसले भविष्यमा राष्ट्रलाई सहयोग गर्छ । त्यसैले बालबालिकामा लगानी गरौँ, उनले भने ।
प्रकाशित समय : १९:४२ बजे