गृहपृष्ठ जीवन बीमा कम्पनीहरुले नौ महिनामा संकलन गरे १ खर्ब २६ अर्ब बढी बीमा शुल्क, नेपाल लाइफको अग्रता
जीवन बीमा कम्पनीहरुले नौ महिनामा संकलन गरे १ खर्ब २६ अर्ब बढी बीमा शुल्क, नेपाल लाइफको अग्रता

चालू आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिसम्म १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले ३३ अर्ब १ करोड रुपैयाँ संकलन गर्दै जीवन बीमा बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । नेपाल लाइफ प्रथम बीमा शुल्क र नवीकरण शुल्क संकलनमा पनि अगाडि छ । कम्पनीले ५ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क र २६ अर्ब ७६ करोड १८ लाख रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, चैत महिनासम्म नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ, एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यसैगरी, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघु जीवन बीमा कम्पनीहरुले साढे ८५ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले चैतसम्म ८ लाख ६० हजार ६३ वटा बीमालेख जारी गरेर ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । सबैभन्दा धेरै व्यवसाय भित्र्याएर गार्डियन माइक्रो लाइफ पहिलो बनेको छ । यो कम्पनीले ५ लाख ७८ हजार ७६७ वटा बीमालेख जारी गरेर ३२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, दोस्रोमा क्रेस्ट माइक्रो लाइफ रहेको छ ।
यो कम्पनीले १ लाख ७० हजार ८२० वटा बीमालेख बिक्री गरेर ३२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, लिबर्टी माइक्रो लाइफले चैतसम्म २० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख संख्या १ लाख १० हजार ४७६ वटा रहेको छ ।
प्रकाशित समय : १३:१३ बजे